धरानः कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीका प्रहरी नायव उपरीक्षक सुवास हमाललाई साउन “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषित गरेको छ ।
प्रहरी नायव उपरीक्षक हमालले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गरेको भन्दै उनलाई सर्वोत्कृष्ट घोषित गरिएको हो ।
गत साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा घटनामा राम्रो भूमिका निर्वाह गरेको पनि प्रहरीले सार्वजनिक गरेको सूचनामा जनाइएको छ । ‘विभिन्न समुदायका व्यक्तिहरूबीच झडप हुँदा उत्पन्न भएको हिंसात्मक तथा ध्वंसात्मक घटनामा तत्काल निज प्रहरी नायव उपरीक्षकको कमाण्डमा प्रहरी परिचालित भई साउन २७ गतेसम्म सो स्थानमा खटिई प्रभावकारी, चुस्त, दुरुस्त तवरले जनशक्ति परिचालन, संवेदनशील क्षेत्रको निगरानी, निषेधाज्ञा, कफ्र्यु कार्यान्वयन गरी सरकारी, सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी तथा तोडफोड र जनधनको क्षति हुनबाट जोगाई समन्वय र सहकार्यमा उक्त स्थानमा हिंसा हुन नदिई उक्त घटनामा मृत्यु भएका शहिदहरूको दाहसंस्कार समेतको प्रकृयामा उचित सुरक्षा प्रबन्ध मिलाई देवानगञ्ज क्षेत्रमा थप जनधनको क्षति हुनबाट जोगाउने कार्यमा अहोरात्र खटिएको प्रहरीले जनाएको छ ।’ सूचनामा भनिएको छ।
उनले इटहरी उपमहानगरपालिकाको विभिन्न स्थानबाट लागू औषध ब्राउन सुगर २३.१३ ग्रामसहित उल्लेख्य संख्यामा लागूऔषध कारोबारी पक्राउ गर्न सफल भएको र विभिन्न स्थानहरुबाट भन्सार छली गरी ल्याइएका कपडालगायत खाद्यान्न सामाग्रीहरु बरामद गरी भन्सार कार्यालय सुनसरीमा दाखिला गराएको हुँदा दिईएको जिम्मेवारीलाई अनुशासित, व्यावसायिक र कर्तब्यनिष्ठ तवरले उच्च मनोवलका साथ प्रहरी सेवा प्रवाह गर्दै आम सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति दिलाउने कार्य गरी प्रहरी संगठनको गरिमा एवं श्रीवृद्धिका लागि त्रुटीरहित तवरले उत्कृष्ट कार्य सम्पादन गरेको सूचनामा जनाइएको छ ।