धरानः धरान उपमहानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
त्यस्तै, धरान उपमहानगरपालिकाका कर्मचारीहरूको पनि एकदिनको तलब बराबरको रकम विपद् प्रभावितको राहत तथा उद्धारका लागि सहयोग गर्ने निर्णय भएको कार्यबाहक मेयर अइन्द्रविक्रम बेघाले जानकारी दिए । उपमहानगरमा सुरक्षा निकायसहित बसेको विपद् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो ।
धरान उपमहानगरपालिकाले व्यक्तिगत क्युआरमा भने कडाइ गर्ने भएको छ । संघसंस्थालाई एकद्वार प्रणालीअन्तर्गत प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न आह्वान गर्ने र व्यक्तिगत क्युआरमार्फत् रकम संकलन गर्ने कार्यलाई निरुत्साहित गर्न सम्बद्ध निकायलाई अनुरोध गर्ने निर्णय समेत गरेको उपमहानगरपालिकाले जनाएको छ ।
‘अभियानलाई सहयोग गर्ने अभियानको अभियानजस्तोचाहिँ नहोस् भन्ने हो, विपदलाई सहयोग गरौं भनेर पैसा जम्मा गर्ने अनि त्यो जम्मा गरेको पैसा लगाइदिन्छौं भन्ने हिसाबको अभियान चाहिँ नचलोस् भन्ने हो’, कार्यवाहक मेयर बेघाले भने, ‘मेरो क्युआरमा जम्मा गर अनि त्यसबाट सरकारलाई पठाउँछु भन्ने ट्रेन्डलाई ब्रेक गरिनेछ, किनभने भोलि हिसाब गाँजेमाजे नहोस् भन्ने हो ।’