Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानदेखि प्रधानमन्त्री कोषमा खाजा खर्च, १० रुपैयाँदेखि १३ लाखसम्म पठाए

हाम्रो कोशी आवाज
भाद्र १२ २०८३, शुक्रबार
धरानदेखि प्रधानमन्त्री कोषमा खाजा खर्च, १० रुपैयाँदेखि १३ लाखसम्म पठाए

धरानः मितेरी डेभलपमेन्ट बैंक धरानले रसुवागढी बाढी पीडितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ पठाएको छ ।
प्रीति भल्भका सञ्चालक तथा मितेरी बैंकका सञ्चालक समितिका सदस्य अन्वेश अग्रवालले पनि तीन लाख रुपैयाँ व्यक्तिगत रकम पठाएका छन् । १३ लाख रुपैयाँ सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको सञ्चालक समितिका अध्यक्ष किसन मास्केले जानकारी दिए ।
गएको भदौ १० गते आएको प्रलयकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहतका लागि धरान–१० स्थित सुमेधा एजुकेसन नेटवर्क प्रा.लि. ले दुईलाख रुपैयाँ सहयोग गरेको छ । प्रा.लि.ले सो प्रधानमन्त्री कोषमा पठाएको हो । संस्थाका तर्फबाट १ लाख ७३ हजार ४ सय रुपैयाँ तथा कर्मचारीहरूको एक दिनको तलब बराबर संकलित २६ हजार ६ सय रुपैयाँ गरी कुल दुई लाख रुपैयाँ सहयोग गरिएको प्रा.लि.का प्रबन्ध निर्देशक सुरेन्द्र घिमिरेले जानकारी दिए ।
यस्तै, धरान–१ स्थित होली गार्डेनका विद्यार्थीले एक दिनको खाजा खर्च र शिक्षकले एकदिनको तलब बाढीपीडितलाई सहयोग गर्ने भएको छ । विद्यार्थी आबद्ध बाल क्लब र स्काउटले सहयोग संकलन अभियान सञ्चालन गर्ने भएका छन् ।

बाढीपीडित परिवारलाई थोरै भएपनि राहत पुरयाउने उद्देश्यले विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकका लागि छुट्टाछुट्टै तीनवटा ‘च्यारिटी बक्स’ राखेर स्वेच्छिकरकम संकलन गरिने होली गार्डेन स्काउट बोइज ट्रुपका लिडर अनिर्माण श्रेष्ठले जानकारी दिए । उनका अनुसार विद्यार्थीले एक दिनको खाजा खर्च बराबरको रकम सहयोग गर्नेछन् ।
श्रेष्ठले विपद्को कठिन अवस्थामा पीडितलाई सहयोग गर्नु सबैको मानवीय दायित्व भएको बताउँदै भने, ‘बाढीबाट भएको यस्तो कहालीलाग्दो अवस्थामा पीडितलाई थोरै भए पनि राहत महसुस हुन्छ । त्यसैले हामीले एक दिन खाजा नखाँदा केही फरक पर्दैन ।’

विद्यालयका शिक्षक तथा कर्मचारीले पनि एकदिनको तलब बराबरको रकम सहयोग गर्ने विद्यालयका प्रिन्सिपल राजेन्द्र गुरुङले जानकारी दिए । विद्यालय परिवारको सामूहिक प्रयासबाट राहत रकम संकलन गरी प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पठाउने तयारी गरिएको उनले बताए ।
बाल बगैंचा क्लबका अध्यक्ष रजत भुजेलले अभियानमार्फत एक लाख रुपैयाँसम्म रकम संकलन गर्ने लक्ष्य रहेको बताए । संकलित रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पठाइने उनको भनाइ छ ।
त्यस्तै, क्लबकी सचिव श्रीयुता खतिवडाले भदौ १८ गते कृष्ण जन्माष्टमीका दिन विद्यालयमा आयोजना हुने कार्यक्रममा सहभागी हुने अभिभावकलाई पनि स्वेच्छिक सहयोगका लागि आग्रह गरिने बताइन् । उनका अनुसार विद्यार्थीको छुट्टाछुट्टै टोली बनाएर छरछिमेक तथा चिनेजानेका व्यक्तिहरूबाट समेत स्वेच्छिक सहयोग संकलन गरिनेछ ।
१० रुपैयाँदेखि १००० सम्म सहयोग
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) धरान उपमहानगर समितिले राहत संकलन गरी प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पठाएको छ ।
धरानका नेता तथा कार्यकर्ताले बजारका व्यापारी, समाजसेवी तथा सर्वसाधारण नागरिकबाट स्वेच्छिकरूपमा राहत रकम संकलन गरेका थिए । संकलित रकम भानुचोकमा पत्रकार तथा सर्वसाधारणको उपस्थितिमा पारदर्शी ढंगले गणना गरी एकमुष्ट १ लाख १४ हजार ४९० रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा क्यूआरमार्फत पठाइएको पार्टीका धरान उपमहानगर संयोजक सीपी बजगाईंले जानकारी दिए ।

संयोजक बजगाईंका अनुसार बाढीपीडितका लागि सहयोग गर्ने क्रममा नागरिकहरूले आफ्नो गच्छेअनुसार १० रुपैयाँदेखि १००० रुपैयाँ तथा अन्य रकमसमेत स्वेच्छाले सहयोग गरेका थिए । सानो–ठूलो सहयोगभन्दा पनि विपद्को समयमा पीडितप्रति नागरिकले देखाएको मानवीय भावना महत्वपूर्ण रहेको उनले बताए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य मुक्सामहाङ मेन्याङ्बोले संकलित राहत रकम वास्तविक बाढीपीडित परिवारसम्म यथाशीघ्र पु¥याउन सरकारसँग आग्रह गरे। विपद्को समयमा राजनीतिक तथा सामाजिक क्षेत्रबाट हुने यस्ता मानवीय पहलले पीडित परिवारलाई राहत र समाजमा आपसी सहयोग तथा एकताको भावना बलियो बनाउने उनको भनाइ थियो ।

प्रकाशित मिति: भाद्र १२ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend