धरानः रसुवा जिल्लाको भोटेकोशी आएको बाढीपछि कोशी प्रदेशका १७६ जना सम्पर्कविहीन भएका छन् ।
रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका सिलसिलामा रहेका सुनसरीका २० जना भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएकोमा ५ जना सम्पर्कमा आएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार रामधुनी नगरपालिकाका चारजना परिवारको सम्पर्कमा आएका छन् । रामधुनी नगरपालिका–५ का नवराज ढकाल, सोही पालिकाका देवानगञ्ज गाउँपालिका–७ का देवनन्दन यादव, रामधुनी नगरपालिका–८ का जीवन सिंह र रामधुनी नगरपालिका–५ का सञ्जित नारायण रहेका छन् । अर्का एकजनाको नाम खुलेको छैन ।
दुहबी नगरपालिका–४ का सचिन गौतम, धरानका मुकेश नेपाल, रामधुनी नगरपालिका–३ का धिरज साह, भोक्राहा नरसिंह गाउँपालिका–३ का श्यामनारायण साह, कोशी गाउँपालिका–९ की मीना बजगाईँ, बराहक्षेत्र नगरपालिका–११ मधुवनका छवि केशर काफ्ले, सोही स्थानका मणि करण राई, इटहरी उपमहानगरपालिका–१९ का प्रभाकर दङ्गाल (नेपाली सेना, लेस नायक), इनरुवा नगरपालिका–५ का पुष्पराज भट्टराई, रामधुनी नगरपालिका–३ का दिनेशकुमार चौधरी, बराहक्षेत्र नगरपालिका–७ का भुवनबहादुर श्रेष्ठ, सोही वडाकी रविनाकुमारी धामी, इटहरी उपमहानगरपालिका–२० का अमरबहादुर खड्का, सोही वडाकी मनमाया खड्का र बराहक्षेत्र नगरपालिका–४ का मोहन माझीसँग अझैसम्म सम्पर्क कायम भएको छैन ।
यसैबीच कोशी प्रदेशबाट सम्पर्कविहीन बनेका १७६ जनामध्ये हालसम्म २२ जना सम्पर्कमा आइसकेका छन् । हराइरहेका १२ जनामध्ये इलामको एकजना मृत फेला परेका छन् भने २ जना सम्पर्कमा आएका छन् । झापाका १३ जनामध्ये १ जना सम्पर्कमा आएका छन् । पाँचथरका एकजना सम्पर्कमा आएका छैनन् ।
झापाका १३ जनामध्ये १ जना, ताप्लेजुङका ५ जनामध्ये ३ जना सम्पर्कमा आएका छन् भने मोरङका १६ जना अझै सम्पर्कमा आएका छैनन् । धनकुटा २, संखुवासभा ३, भोजपुरका ३ जना अझै सम्पर्कविहीन नै छन् । उदयपुरका २१ जनामध्ये ५ जना सम्पर्कमा आएका छन् । ओखलढुंगाका २७ जनामध्ये २ जना सम्पर्कमा आएका छन् भने बाँकी हराइरहेका छन् । हराइरहेका खोटाङका ११ जनामध्ये १ जना सम्पर्कमा, सोलुका हराइरहेका ४२ मध्ये ३ जना सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।