Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानलगायत सुनसरीभर राहतका नाममा जथाभावी अनाधिकृतरुपमा पैसा नउठाउन आग्रह

हाम्रो कोशी आवाज
भाद्र १४ २०८३, आइतबार
धरानलगायत सुनसरीभर राहतका नाममा जथाभावी अनाधिकृतरुपमा पैसा नउठाउन आग्रह

धरानः रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि विपद्को नाममा प्रभावित तथा पीडितका लागि आर्थिक तथा जिन्सी सहयोग संकलन गर्ने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले अनुमतिबिना सहयोग संकलन नगर्न आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले आइतबार सूचना जारी गर्दै विपद्को कठिन अवस्थामा केही व्यक्ति तथा समूहले प्रभावितको नाममा आर्थिक सहयोग संकलन गर्न थालेको भन्दै त्यस्तो कार्य नगर्न आग्रह गरेको हो ।
प्रशासनले आधिकारिक माध्यमबाहेक अन्य व्यक्ति वा संस्थाले पीडितको नाममा नगद वा जिन्सी सहयोग संकलन नगर्न तथा नगराउन सम्बन्धित सबैमा अनुरोध गरेको छ । विपद्को संवेदनशील अवस्थाको फाइदा उठाउँदै गरिने अनाधिकृत सहयोग संकलनप्रति सचेत रहन आग्रह गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेले विपदमा सार्वजनिक गरेको सूचनामा विपद प्रभावित राहतका लागि जथाभावी आर्थिक संकलन गरे, गराएको जानकारी भएमा जानकारी गराउन समेत भनिएको छ ।
विपद्बाट प्रभावित तथा पीडितका नाममा नगद सहयोगका लागि क्यूआर कोडसमेत शेयर गरी सहयोग संकलन भइरहेको सूचना प्राप्त भएको प्रशासनले जनाएको छ । प्रभावितको नाममा यसरी आफूखुशी सहयोग संकलन गर्नु प्रचलित कानुनविपरीत हुने प्रशासनले स्पष्ट पारेको छ । ‘कुनै पार्टी, संघसंस्थाले जथाभावी रकम संकलन गरेको पाइए तुरुन्त खबर गरे कारवाहीको प्रक्रिया अघि बढाउँछौं’, सहायक प्रजिअ लामिछानेले भने ।
जिल्ला प्रशासन कार्यालयले इच्छुक व्यक्ति तथा संस्थाले नेपाल सरकारले आहवान गरेबमोजिम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका आधिकारिक बैंक खातामा सहयोग रकम जम्मा गर्न सक्ने जनाएको छ ।
प्रशासनले सूचनासँगै राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंक, एभरेस्ट बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक र लक्ष्मी सनराइज बैंकका आधिकारिक खातामा रकम जम्मा गर्न मिल्ने क्यूआर कोडसमेत सार्वजनिक गरेको छ ।

प्रकाशित मिति: भाद्र १४ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend