धरानः सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानमा रिक्त रहेको शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक पदमा तीनजनालाई नियुक्त गरेको छ ।
प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिष्ठानको शिक्षाध्यक्षमा प्राडा शिवेन्द्र झा, रजिस्ट्रारमा धरणीधर बराल र अस्पताल निर्देशकमा डा. इन्द्रकुमार लिम्बूलाई नियुक्त गरेका हुन् ।
नवनियुक्त पदाधिकारीहरूले सहकुलपति समेत रहेकी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । त्यस अवसरमा नवनियुक्त पदाधिकारीहरूले प्रतिष्ठानको शैक्षिक, प्रशासनिक तथा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै संस्थागत सुधार र गुणस्तरीय सेवा प्रवाहमा केन्द्रित भएर काम गर्ने बताएका छन् ।
तीनवटै पदका लागि प्रा.डा. स्मृति कार्कीले तीन-तीन जनाको नाम सिफारिस गरेकी थिइन् । शिक्षाध्यक्षका लागि प्राध्यापक डा. शिवेन्द्र झासहित प्राध्यापक डा. कृष्णा पोखरेल र प्राध्यापक डा. रोविन मास्केको नाम सिफारिस गरिएको थियो । त्यस्तै, रजिस्ट्रार पदका लागि धरणीधर बरालसहित प्राध्यापक डा. शम्शेर श्रेष्ठ र सागर ताम्राकार तथा अस्पताल निर्देशक पदका लागि डा. इन्द्रकुमार लिम्बूसहित डा. मधुर बस्नेत र सेराज अहमत खानको नाम सिफारिस गरिएको थियो । सिफारिस भएका नाममध्येबाट मन्त्री मेहताले तीनै पदमा एक-एक जनालाई नियुक्त गरेकी हुन् ।
