Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बराहक्षेत्रमा प्रहरीको जागिरपछि कृषि पेशाबाट लाखौं कमाउँदै

हाम्रो कोशी आवाज
भाद्र १८ २०८३, बिहिबार
बराहक्षेत्रमा प्रहरीको जागिरपछि कृषि पेशाबाट लाखौं कमाउँदै

धरान: नेपाल प्रहरीबाट अवकाश भएपछि के गर्ने होला ? भन्ने सोचले पिरोल्थ्यो । उमेर थियो, जोस बाँकी थियो । केही न केही त गर्नै पर्छ भन्ने लाग्थ्यो ।
विदेश जान मन थिएन । देशभित्रै रहेर आर्थिक उपार्जन गर्ने र धेरैका लागि उदाहरण बन्ने लक्ष्यका साथ सुरु गरेको कृषिले आज अर्जुन विष्टलाई नयाँ परिचय दिएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–६ का विष्ट आज सफल व्यावसायिक कृषकका रूपमा स्थापित भएका छन् । कृषि व्यवसायबाट वार्षिक रु २८ लाखसम्म आम्दानी गर्दै आएको उनले सुनाए ।
विसं २०७७ मा प्रहरी सेवाबाट अवकाश लिएपछि उनले कृषि व्यवसाय सुरु गर्नु भएको हो । अवकाश हुँदा प्राप्त भएको रु १४ लाख लगानी गरेर व्यवसाय सुरु गरेकाका विष्टले अहिले पाँच बिगाहा क्षेत्रफलमा केरा, भूइँकटहर, खरबुजा, मेवा, सयपत्री फूल, दाल, तोरी, साग, मकै, धानलगायत खेती गर्दै आएका छन् । उनले नेपाल प्रहरीमा १७ वर्ष सेवा गरेका थिए ।
केराको बिक्रीबाट मात्रै वार्षिक रु आठ लाख बढी आम्दानी हुने उहाँ सगौरव बताउँछन् । उत्पादित केराप्रति दर्जन होलसेलमा रु ५० बारीबाटै बिक्री हुन्छ । उत्पादित केरा चक्रघट्टी, कालाबञ्जर, चतरालगायत स्थानीय बजारसँगै इटहरी, धरान र गाईघाटसम्म बिक्रीका लागि पठाउने गरिएको छ । उनले चिनियाँ चम्पा र कृष्णभोग जातका केरा लगाउनुभएको छ । एउटा केराको बोटबाट १५ देखि २० दर्जनसम्म फल उत्पादन हुने गरेको उनको भनाइ छ ।
केरा रोपेको एक वर्षपछि उत्पादन लिन सकिन्छ । केरा खेतीमा मेहनत धेरै छ । रोग किराको समस्या हुन्छ । गोडमेल गर्नुपर्छ र अनावश्यक बोट हटाउनुपर्छ । “खेतीमा आफैँ समय दिन सकिएन भने उत्पादन राम्रो हुँदैन,” उनले भने ।
यस्तै, भूइँकटहर बिक्रीबाट पनि राम्रो आम्दानी हुने उनले बताए । गत वर्ष मात्रै करिब रु १५ लाख बराबरको भूइँकटहर बिक्री गरेको उनको भनाइ छ । यस वर्ष गत वर्षको तुलनामा कम क्षेत्रफलमा खेती गरिएकाले उत्पादन घटेको छ । भूइँकटहर प्रतिगोटा रु २०० मा बिक्री हुने गरेको छ । यसको मुख्य ‘सिजन’ असारदेखि भदौसम्म हुन्छ ।
बजारमा भूइँकटहरको मूल्य निर्धारणमा भारतीय उत्पादनले पनि प्रभाव पार्ने गरेको उनको भनाइ छ । भारतबाट ठुलो परिमाणमा भूइँकटहर भित्रिँदा स्थानीय उत्पादनको मूल्य घट्ने गरेको उनी बताउँछन् । “यस वर्ष नेपाली भूइँकटहरले राम्रो बजार मूल्य पायो, त्यसैले आम्दानी पनि राम्रो भयो,” उनले भने ।
त्यस्तै, विष्टले १२ कट्ठा क्षेत्रफलमा खरबुजा खेती गरेका छन् । भारतबाट बीउ ल्याएर उक्त खेती गर्दै आएका उनले उत्पादित खरबुजा थोकमा प्रतिकिलो रु ५० मा बिक्री हुने बताए । उनले उत्पादन गरेका कृषि उपज धरान कृषि बजार, इटहरी, दमक, विराटनगर तथा झापासम्म बिक्री हुने गरेको छ । मकै र धान बिक्रीबाट पनि वार्षिक रु दुई लाख बढी आम्दानी हुने उनले सुनाए ।
विभिन्न बाली तथा फलफूल बिक्री साथै बजारसम्म पुर्‍याउन सहज होस् भनेर विष्टले करिब दुई वर्षअघि ‘विष्ट फलफूल पसल’ समेत सञ्चालन ल्याएका छन् । पसल सञ्चालन गरेपछि आफ्नै उत्पादन आफैँ बिक्री गर्न सहज भएको उनको भनाइ छ ।
यस वर्ष फलफूल खेतीमा बाढीको असर नपरेको र रोग किरको समस्या पनि नभएकाले उत्पादन राम्रो भएको उनको भनाइ छ । गत वर्षको बाढीले रु १० लाख बराबरको क्षति पुर्‍याएको विष्टले बताए । बाढीका कारण १२ कट्ठामा लगाइएको खरबुजा नष्ट भएको थियो । बिक्रीका लागि तयार भएको सयपत्री फूल डुबानमा परेर नष्ट भयो साथै केराखेतीमा पनि ठुलो क्षति पुगेको उनले जानकारी दिए ।
ज्यालादारी मजदुरका लागि मात्रै वार्षिक रु पाँच लाखसम्म खर्च हुने गरेको छ । गोडमेल, केरा काट्ने, फलफूल बोक्ने, भूइँकटहर ढुवानी गर्ने, जमिन जोत्ने तथा रोपाइँलगायत काममा मजदुर आवश्यक पर्ने उनको भनाइ छ । त्यसबाट स्थानीयलाई रोजगारी उपलब्ध भएको छ ।
प्रहरीबाट अवकाशपछि अन्य व्यापार व्यवसायबाट खासै आम्दानी नहुने देखिएपछि कृषि पेसामा लागेको उनले बताए । सुरुआती दिनमा भने कृषि व्यवसाय गर्न सहज नभएको उनको अनुभव छ । खेत तयार पार्नेदेखि सिँचाइको व्यवस्था गर्ने काममा निकै मेहनत गर्नुपरेको उनले बताए ।
कृषिमा प्रभावकारी अनुदानको व्यवस्था खासै नभएको उनको भनाइ छ । “कृषिमा अनुदानको आस गर्नुभन्दा प्रविधि र बजारको ज्ञान भयो भने आफैँ राम्रो कमाउन सकिन्छ । कृषि गर्ने युवाले ठुलो ऋण लिएर व्यवसाय सुरु गर्नुभन्दा सानो क्षेत्रफलबाट थोरै लगानी गरे राम्रो आम्दानी गर्न सकिन्छ,” उनले भने ।
कृषि पेसामा सफल हुन आफ्नै मेहनत आवश्यक पर्ने विष्टको अनुभव छ । “कामदार राखेर अर्काको भरमा मात्रै कृषि गर्ने हो भने सफल भइँदैन । आफैँ मेहनत गर्नुपर्छ,” उनले भने । -रासस

प्रकाशित मिति: भाद्र १८ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ९ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १२ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १३ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १३ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १६ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend