Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धराने विद्यार्थीको मन, बजारमा सहयोग उठाएर प्रधानमन्त्री कोषमा २ लाख बढी पठाए, शिक्षकले थपिदिए तलब

हाम्रो कोशी आवाज
भाद्र १८ २०८३, बिहिबार
धराने विद्यार्थीको मन, बजारमा सहयोग उठाएर प्रधानमन्त्री कोषमा २ लाख बढी पठाए, शिक्षकले थपिदिए तलब

धरानः धरान-१ स्थित होली गार्डेन एकेडेमीका विद्यार्थीहरूको सक्रियतामा भोटेकोशी बाढीपीडितका लागि २ लाख १ हजार ४८५ रुपैयाँ सहयोग संकलन भएको छ ।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारका लागि विद्यार्थीहरूले विद्यालयमा स्वेच्छिक सहयोग संकलन अभियान सञ्चालन गरेका थिए । संकलित रकम बिहीबार विद्यालयमा आयोजित श्रीकृष्ण जन्माष्टमी कार्यक्रमका अवसरमा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पठाउने गरी एन प्याब्सन धरान उपमहानगर समितिका अध्यक्ष भगत लिम्बूलाई चेक हस्तान्तरण गरिएको हो ।
होली गार्डेन बाल बगैंचा क्लब र होली गार्डेन स्काउट ट्रुपमा आबद्ध विद्यार्थीहरूले विद्यालयमा स्वेच्छिक सहयोगका लागि ‘डोनेसन बक्स’ राखेर अभियान शुरु गरेका थिए। कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम छुट्याएर सहयोग गरेका थिए । विद्यार्थीहरूले डोनेसन बक्स लिएर छिमेकी तथा बजारका विभिन्न पसलमा पुगेरसमेत स्वेच्छिक सहयोग संकलन गरेका थिए ।
विद्यार्थीहरूको अभियानमा विद्यालयका शिक्षकहरूले पनि साथ दिँदै एकदिनको तलब बराबरको रकम सहयोग गरेका थिए । विद्यार्थी, शिक्षक तथा विभिन्न व्यक्ति र संस्थाबाट संकलित रकम एकमुष्टरूपमा २ लाख १ हजार ४८५ रुपैयाँ पुगेको हो ।
संकलित रकम एन प्याब्सन धरानमा आबद्ध विभिन्न निजी विद्यालय तथा विद्यार्थीहरूबाट संकलित अन्य सहयोग रकमसँगै एकमुष्ट रूपमा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पठाइने एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष तथा होली गार्डेन एकेडेमीका प्रिन्सिपल राजेन्द्रकुमार गुरुङले बताए ।
विद्यार्थीहरूको सक्रियतामा मानवीय सहयोगका लागि सञ्चालन गरिएको अभियान प्रशंसनीय रहेको भन्दै एनप्याब्सन धरानका अध्यक्ष भगत लिम्बूले विद्यार्थीहरूलाई धन्यवाद व्यक्त गरे । सानै उमेरदेखि विपदमा परेका नागरिकप्रति सहयोग र जिम्मेवारीको भावना विकास हुनु सकारात्मक पक्ष भएको उनको भनाइ थियो । आफ्नो खाजा खर्च कटाएर सहयोगदेखि बजारसम्म पुगेर सहयोग जुटाउनेसम्मको विद्यार्थीहरूको प्रयासले मानवीय सेवाका लागि उमेरभन्दा पनि भावना र इच्छाशक्ति महत्वपूर्ण हुन्छ भन्ने सन्देश दिएको छ ।

प्रकाशित मिति: भाद्र १८ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend