धरानः धरान उपमहानगरपालिकाले बर्खामा पानीजन्य जोखिम घटाउन पिउने पानी उत्पादन, ढुवानी तथा वितरण प्रणालीमा अनुगमन गरिरहेको छ ।
धरानमा पानी उद्योगको लापरवाहीले गर्दा गुणस्तरहीन पानी वितरण हुन खोजेपछि नष्ट गरिएको छ । छड्के अनुगमनका क्रममा पिउने पानी बोकेको १५० वटा जार नष्ट गरेको बजार अनुगमन समेत हेर्दै आएका धरान उपमहानगरपालिकाका प्रशासन महाशाखा प्रमुख वेदप्रसाद सापकोटाले जानकारी दिए ।
इटहरी–१९ र २० मा सञ्चालित जय नेपाल उद्योगका १०५ वटा, दिव्यश्वरी जल ४५ वटा जार जफत गरेर धरान उपमहानगरपालिका प्राङगणमा ल्याएर नष्ट गरिएको उनले जानकारी दिए । छड्के अनुगमनपछि लेवलिङ नगरिएको पानी धरानमा वितरण गर्नै लाग्दा जफत गरी नष्ट गरिएको उनले बताए । उद्योगलाई ५–५ हजार रुपैयाँ जरिवाना समेत तिराइएको छ । जरिवाना नतिरी हिँडेका उनीहरूका कर्मचारी हालसम्म फर्केका छैनन् । ‘शुरुको गल्ती भएकोले ५–५ हजार तिराएको हो’, महाशाखा प्रमुख सापकोटाले भने, ‘उनीहरूले लाइसेन्स छाडेर गएका छन्, बिल बिजक पनि रेडी छ, जरिवाना तिर्न भने निकै अटेर र आनाकानी गरिरहेको पाइएको छ । तर जति आनाकानी गरेपनि, नटेरेपनि जरिवाना तिराएरै छाड्छौं ।’
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय इनरुवा कार्यालय प्रमुखसहितको टोलीले छड्के हानेको हो ।
अनुगमनका क्रममा कामपाले पानी भित्र्याउने विभिन्न नाकामा टोली परिचालन गरी शहरवासीलाई पिउने पानीको आवश्यकता पूरा गराउन प्रशोधित पानीको सेवा दिने व्यवसायीका सवारी साधन, पिउने पानीको जारको नियमित अनुगमन गर्ने गरेको उपमहानगरपालिकाले जनाएको छ । अनुगमनका क्रममा मापदण्डविपरीत भेटिएका जारलाई अनुगमनकै क्रममा नष्ट गर्ने गरेको उनले बताए ।
अनुगमनका क्रममा कुच्चिएका, फुटेका र भित्रको पानी नदेखिने अपारदर्शी जार भेटिने गरेको र सो जारहरू नष्ट गर्ने गरिएको महाशाखा प्रमुख सापकोटाले बताए । अनुगमनका क्रममा त्रुटि पाइएका पानी उत्पादक कम्पनीलाई मापदण्डविपरीत प्रशोधित पिउने पानीका जार बिक्री वितरण नगर्न, जारमा स्पष्ट विवरण खुलेको लेबल राख्न, कम्पनीले जारी गरेको बिलबिजक गाडीमै लिएर हिँड्न निर्देशन दिइएको पनि उनले बताए ।
उद्योगको पानीको नमूना संकलन गरी प्रयोगशालामा समेत पठाइने गरेको उनले जानकारी दिए । उनका अनुसार ती उद्योगले फुटेका र प्वाँल परेका जारमा पानी भर्ने गरेको साथै सरसफाइमा चरम लापरवाही गर्ने गरेको पाइएको छ । धरान बजारमा पानीको माग उच्च हुने साथै वर्षायाममा धेरैजसोले जारकै पानी पिउने र यो समयमा उद्योगहरूले जस्तो पायो त्यस्तै जारमा पानी भरेर पठाउने र सरसफाइमा ध्यान नदिने जनगुनासो पनि बढ्दै गएको छ ।