धरानः शिक्षकलाई भरुवा बन्दुक हानेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा संखुवासभा, मकालु गाउँपालिका–१ सिउँडीबारी बस्ने ३३ वर्षीय पत्नकुलुङ राईलाई घटनामा प्रयोग भएको भरुवा बन्दुकसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीले बताए ।
मकालु गाउँपालिका–१ स्थित शिक्षकमाथि भरुवा बन्दुक प्रहार हुँदा मृत अवस्थामा फेला परेका थिए । बिहीबार करिब ७ः०० बजे मकालु गाउँपालिका–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयमा जिल्ला संखुवासभा सिलिचोङ गाउँपालिका –०५ याफु घर भई सोही विद्यालयमा बस्दै आएका अन्दाजी ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राई खाना खाइसकेपछि भाँडा धुन विद्यालयबाहिर निस्किएका थिए ।
सो क्रममा अचानक बन्दुक पड्किएजस्तो आवाज आएपछि सोही विद्यालयमा बस्ने शिक्षिका टिकामाया राई बाहिर निस्केर हेर्दा नरकुबिर ढलेको र शरीरबाट रगत बगिरहेको अवस्थामा फेला पारेका थिए ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगी प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको पछाडिको भागमा भरुवा बन्दुकले लागेको चोट फेला परेको थियो ।