धरानः १६ ग्राम २२० मिलिग्राम खैरो हिरोइन (ब्राउन सुगर) सहित दुईजना पक्राउ परेका छन् ।
सुनसरीको रामधुनी नगरपालिका–५ स्थित चाम्लिङ होटल एण्ड लजबाट लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
शुक्रबार बिहान करिब ११ बजे होटलमा लागूऔषध ब्राउन सुगर बिक्री–वितरण भइरहेको गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–७ का ५२ वर्षीय मोजामिल अन्सारी र चाम्लिङ होटल एण्ड लज सञ्चालक रामधुनी नगरपालिका ५ की ४९ वर्षीया मनिता राई रहेका छन् । खानतलासीका क्रममा मनिता राईले लुकाएर राखेको लागूऔषध ब्राउन सुगर १६ ग्राम २२० मिलिग्राम बरामद गरिएको छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको छ ।