धरानः धरान उपमहानगरपालिकाले नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालय र बालबालिकासँग सम्बन्धित संघ–संस्थालाई विद्यार्थी तथा बालबालिकालाई चन्दा वा राहत रकम संकलन गर्ने कार्यमा प्रयोग नगर्न निर्देशन दिएको छ ।
धरान उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाले २०८३ साल भदौ १८ गते पत्र जारी गर्दै नगरभित्रका सबै सामुदायिक विद्यालय, संस्थागत विद्यालय तथा बालबालिकासँग सम्बन्धित संघ–संस्थालाई यस्तो निर्देशन दिएको हो ।
महाशाखाले प्राप्त सूचनाअनुसार धरान उपमहानगरपालिका अन्तर्गतका केही सामुदायिक तथा संस्थागत विद्यालय र संघ–संस्थाले विद्यालयको पोशाकमा रहेका बालबालिकालाई बाढीपीडितको सहयोगका लागि चोक–चोकमा राहत रकम संकलन गर्न प्रयोग गरेको जनाएको छ ।
पत्रमा बालबालिका सम्बन्धी ऐन, २०७५ ले बालबालिकालाई चन्दा वा आर्थिक संकलन गर्ने कार्यमा प्रयोग गर्न पूर्णरूपमा निषेध गरेको व्यवस्था रहेको उल्लेख गर्दै त्यस्तो कार्य नगर्न तथा नगराउन सम्बन्धित सबैलाई जानकारी गराइएको छ । उपमहानगरपालिकाले आगामी दिनमा पनि यस्ता कार्यमा विद्यार्थी तथा बालबालिका प्रयोग गरिएको पाइएमा नियमअनुसार कारबाही हुने स्पष्ट जानकारी गराएको छ ।
