धरानः ट्याक्टरसँगै खसेका बेपत्ता भएका चालक र सहचालक भेटिएका छन् । दुवैजना पौडिएर बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका ताप्लेजुङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक कमल बजगाईंका अनुसार बेपत्ता बनेका ट्याक्टरका चालक मैवाखोला गाउँपालिका–१ का १९ वर्षीय समीर बराइली र सहचालक अनिल नाल्बो पौडिएर बाँच्न सफल भएको बताए ।
ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा प्र १–०२–००३ त ३०४८ नम्बरको ट्याक्टर पुलबाट खस्दा खोलाले बगाएको थियो । मैवाखोलाको पुलको छेउबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको थियो ।
बेपत्ताको खोजीका लागि प्रहरी निरीक्षक विन्देश्वर यादव सहितको टोली परिचालन गरिएको थियो । चालक बराइली सकुशल अवस्थामा आफैं इलाका प्रहरी कार्यालय (दोभान) को सम्पर्कमा आएको प्रहरीले जनाएको छ । उनले नाल्बो पनि आफूसँगै बाढीबाट पौडिएर निस्किसकेको जानकारी गराएको प्रहरीले जनाएको छ । करिब २० मिटर तल बगाएपछि आफूहरू पौडिएर खोलाको किनारमा निस्कन सफल भएको उनले बताएका छन् ।