धरानः भाटभटेनी सुपर मार्केटको धरानस्थित स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने भएको छ ।
धरानको पुतली लाइनमा रहेको भाटभटेनी सुपर स्टोर २०८३ भदौ २४ गतेदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।
गत वर्ष भदौ २४ गते आन्दोलनका क्रममा आगजनी भएपछि उक्त शाखा लामो समयदेखि बन्द थियो । आगजनीबाट स्टोरमा ठूलो क्षति पुगेपछि पुनर्निर्माण तथा आवश्यक व्यवस्थापनको काम अघि बढाइएको थियो। घटनाको एक वर्ष पूरा भएकै दिनबाट स्टोर पुनः सञ्चालनमा ल्याउन लागिएको हो ।
भदौ २४ गते भएको आगजनी र लुटपाटमा संलग्न चार जनाको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालयले धरानले जनाएको छ । उनीहरू सबै आगजनी र चोरीका लागि भित्र पसेका थिए । मृत्यु भएको शव खरानी भएको अवस्था शरीरका केही अंग मात्र फेला पारिएको प्रहरीले बताएको छ। भानुचोकमा जेन्जी समूहले आन्दोलत स्थगित भएर सबै घर हिँडेको अवस्थामा अराजक समूहले बन्द रहेको भाटभटेनीको सटर फोडी पेट्रोल खन्याएर आगो लगाएका थिए । आगो तीव्र गतिमा फैलिँदा उनीहरू भित्रै फसेर जलेका थिए। तीनजनाको शव चौथो तलामा र एक जनाको शव दोस्रो तलामा भेटिएको थियो ।

भाटभटेनीको देशभर रहेका स्टोमध्ये ११ वटा स्टोर र मुख्य गोदाम पूर्णरुपमा क्षतिग्रस्त भएका थिए। कोशी प्रदेशमा रहेको भाटभटेनीका विर्तामोड, दमक, विराटनगर, धरानमा रहेका स्टोरहरू पूर्णरुपमा क्षतिग्रस्त भएका थिए ।
भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले भदौ २४ गतेदेखि धरानस्थित स्टोर नियमित रूपमा सञ्चालन हुने जानकारी दिए। उनका अनुसार पुनः सञ्चालनपछि ग्राहकलाई सहज किनमेलको वातावरणसँगै आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने तयारी गरिएको छ।
कम्पनीले ग्राहकको सुविधालाई प्राथमिकतामा राखेर स्टोरमा आवश्यक व्यवस्थापन मिलाइएको जनाएको छ। अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले पुनः सञ्चालनको अवसरमा ग्राहक, शुभेच्छुक र सरोकारवालाबाट प्राप्त निरन्तरको साथ, सहयोग तथा विश्वासप्रति आभार व्यक्त गरेका छन्।
जेनजी आन्दोलनका क्रममा भाटभटेनीका उपत्यकाभित्र महाराजगञ्ज, बौद्ध, कोटेश्वर, बालुवाटार वायरहाउस र नक्साल शाखासहित पोखरा, चितवन, हेटौँडा, बिर्तामोड, दमक, विराटनगर र धरानका स्टोरमा आगजनी भएको थियो। त्यस्तै कलंकी, ठिमी, बालाजु, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भैरहवाका स्टोरमा आगजनी नभए पनि तोडफोड तथा लुटपाट भएको थियो। टोखा, सातदोबाटो, अनामनगर, सानो गाउँ, वल्र्ड ट्रेड सेन्टर, पाटन र नेपालगञ्जका स्टोर भने सुरक्षित रहेका थिए।
तोडफोड तथा लुटपाटमा परेका शाखाहरू यसअघि नै सञ्चालनमा आइसकेका छन्। आगजनीबाट ध्वस्त भएका १२ शाखामध्ये हालसम्म आठवटा पुनः सञ्चालनमा आइसकेका छन्। अब धरानसँगै काठमाडौंको नक्साल, मकवानपुरको हेटौँडा र झापाको दमक शाखा सञ्चालनमा आउन बाँकी छन्।