Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा अनि फेरि उठ्यो भाटभटेनी, आगजनी र तोडफोड भएको एक वर्ष पुगेकै दिनदेखि फेरि सञ्चालनमा

हाम्रो कोशी आवाज
भाद्र २४ २०८३, बुधबार
धरानमा अनि फेरि उठ्यो भाटभटेनी, आगजनी र तोडफोड भएको एक वर्ष पुगेकै दिनदेखि फेरि सञ्चालनमा

धरानः धरानमा पनि जेनजी आन्दोलनको मुख्य तारो बनेको भाटभटेनी सुपर मार्केट फेरि सञ्चालनमा आएको छ ।
भाटभटेनीकी सञ्चालिका सावित्री गुरुङ (सञ्चालक मीनबहादुरकी श्रीमती) बुधबार वैद्धिक सनातनअनुसार पूजाआजा र बत्ती बालेर पुनः सञ्चालनको लागि उद्घाटन गरिन् ।
एक वर्षअघि जेनजी आन्दोलनका क्रममा त्यहाँ आगजनी र तोडफोड भएको थियो । आगजनी र तोडफोड भएकै दिन अर्थात् आगजनी भएको एक वर्ष पुगेकै दिनदेखि यो फेरि सञ्चालनमा आएको हो । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भाटभटेनी पनि मुख्य तारो बनेको थियो ।
भाटभटेनीका धरान शाखाका व्यवस्थापक विनोद भट्टराईले धरान शाखा पूर्ण क्षमताका साथ बुधबारदेखि सञ्चालनमा आएको बताए । उनले ग्राहकको सेवाको लागि स्टोरलाई थप परिस्कृत गर्दै अझ गुणस्तरीय भेराइटी पस्किएको बताए । ‘हामीले पहिलाभन्दा थप भेराइटी पस्किँदै धेरै कुराहरूमा सुधार ल्याउने प्रयत्न गरेका छौं’, उनले हाम्रो कोशी आवाजसँग भने, ‘सेवा लिइसकेपछि ग्राहकबाट थप सल्लाह, सुझावको पनि अपेक्षा राखेका छौं ।’ उनले ठीक जलेको एक वर्षकै दिन अर्थात् भदौ २४ गते बुधबारदेखि औपचारिकरूपमा फेरि सञ्चालनमा आएको समेत बताए ।
कम्पनीले ग्राहकको सुविधालाई प्राथमिकतामा राखेर स्टोरमा आवश्यक व्यवस्थापन मिलाइएको जनाएको छ । अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले पुनः सञ्चालनको अवसरमा ग्राहक, शुभेच्छुक र सरोकारवालाबाट प्राप्त निरन्तरको साथ, सहयोग तथा विश्वासप्रति आभार व्यक्त गरेका छन् ।
गत वर्षको भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा कोशी प्रदेशको विराटनगर, धरान, दमक र बिर्तामोडमा रहेका भाटभटेनी सुपरमार्केटमा गरिएको आगजनीले ती ध्वस्त भएका थिए ।
झापाको बिर्तामोडस्थित भाटभटेनी औपचारिकरूपमा भदौ १४ गतेदेखि पुनः सञ्चालनमा आइसकेको छ । त्यस्तै, विराटनगर शाखा पनि पुनर्निर्माण र मर्मतपछि यसअघि नै सञ्चालनमा ल्याइसकिएको छ ।
कोशी प्रदेशमा जलेका चारवटा शाखाहरूमध्ये अब दमक शाखा मात्र सञ्चालनमा आउन बाँकी छ । यो शाखा पुनर्निर्माणको अन्तिम चरणमा पुगेको जनाइएको छ ।
तस्वीरहरूः हाम्रो कोशी आवाज

 

प्रकाशित मिति: भाद्र २४ २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend