विराटनगरः बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) मोरङले ७४ लाख ९५ हजार ७ सय ५१ रुपैयाँ सहयोग गरेको छ । प्याब्सन मोरङले आफ्ना सदस्य विद्यालय, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकबाट संकलन गरेको उक्त रकम बुधबार प्याब्सन केन्द्रीय राहत कोषमा जम्मा गरेको हो ।
प्याब्सन केन्द्रीय कार्यसमितिले जारी गरेको सर्कुलरअनुसार मोरङका विभिन्न पालिकामा रहेका सदस्य विद्यालयमार्फत रकम संकलन गरिएको प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार मोरङका १५ पालिकामा रहेका सदस्य विद्यालयबाट संकलित रकम केन्द्रीय राहत कोषमा पठाइएको हो । प्याब्सनले देशभरबाट एकमुष्ट रूपमा संकलन हुने रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ ।
पालिकागत रूपमा सबैभन्दा धेरै रकम विराटनगरबाट संकलन भएको छ । विराटनगरका ३३ विद्यालयबाट २३ लाख १३ हजार ५ सय २७ रुपैयाँ संकलन भएको विवरणमा उल्लेख छ । सुन्दरहरैँचाका २५ विद्यालयबाट १५ लाख ७० हजार ३ सय १९ रुपैयाँ, बेलबारीका २० विद्यालयबाट ९ लाख ६५ हजार ३ सय ७२ रुपैयाँ र पथरीशनिश्चरेका २३ विद्यालयबाट ६ लाख ९० हजार ५ सय ४१ रुपैयाँ संकलन भएको छ ।

त्यस्तै, उर्लाबारीका १६ विद्यालयबाट ३ लाख ५३ हजार ३ सय १९ रुपैयाँ, रंगेलीका ११ विद्यालयबाट ४ लाख ५३ हजार ६ सय ३ रुपैयाँ, रतुवामाईका ११ विद्यालयबाट २ लाख ४६ हजार ४ सय ७७ रुपैयाँ र केराबारीका ६ विद्यालयबाट २ लाख ४१ हजार ४६ रुपैयाँ संकलन भएको छ ।
मिक्लाजुङका १० विद्यालयबाट १ लाख ९९ हजार ३३ रुपैयाँ, लेटाङका १२ विद्यालयबाट २ लाख ६६ हजार १३ रुपैयाँ, सुनवर्षीका एक विद्यालयबाट ६२ हजार ९ सय २५ रुपैयाँ, धनपालथानबाट २५ हजार २५ रुपैयाँ, कानेपोखरीबाट २५ हजार रुपैयाँ, ग्रामथानबाट १० हजार ९ सय रुपैयाँ र कटहरीका दुई विद्यालयबाट २७ हजार २ सय ३५ रुपैयाँ संकलन भएको विवरणमा उल्लेख छ ।
अध्यक्ष बस्नेतले विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्न विद्यालय परिवारले स्वतःस्फूर्त रूपमा रकम संकलन गरेको बताए । उनका अनुसार विद्यालयका सञ्चालक, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकको सहभागितामा संकलित रकमलाई केन्द्रीय राहत कोषमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पु¥याइनेछ ।
‘विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्नु हाम्रो सामाजिक दायित्व हो । सदस्य विद्यालयबाट संकलित रकम केन्द्रीय राहत कोषमा पठाएका छौं,’ बस्नेतले भने, ‘प्याब्सनले देशभरबाट संकलन गरेको रकम एकमुष्ट रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नेछ ।’
भोटेकोशी नदीमा आएको बाढी तथा रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले प्याब्सनले राहत रकम संकलन गरेको हो ।
मेरिल्याण्ड कलेजले गरयो ५ लाख ११ हजार सहयोग
बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि विराटनगरस्थित मेरिल्याण्ड कलेजले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।
कलेजले बुधबार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । हिसान मोरङमार्फत रकम कोषमा जम्मा गरिएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए ।
भोटेकोशी नदीमा आएको बाढी तथा रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत रकम उपलब्ध गराइएको कलेजले जनाएको छ ।
प्रिन्सिपल ढकालले प्राकृतिक विपत्तिको कठिन घडीमा प्रभावित नागरिकलाई सहयोग गर्नु विद्यालयको पनि दायित्व भएको बताए । ‘विपद्को समयमा निजी क्षेत्र, विभिन्न संघसंस्था र आम नागरिक एकजुट भएर प्रभावित समुदायको घाउमा मलम लगाउनुपर्छ,’ उनले भने ।
कलेजले यसअघि पनि विभिन्न सामाजिक कार्य तथा प्राकृतिक विपत्तिका बेला सहयोग गर्दै आएको ढकालले बताए ।
हिसान मोरङले आफ्ना सदस्य विद्यालयबाट संकलन हुने राहत रकम एकमुष्ट रूपमा केन्द्रीय हिसानमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ ।
‘अहिले सदस्य विद्यालयहरूबाट राहत रकम संकलन भइरहेको हिसान मोरङका अध्यक्ष अमित ढकालले बताए । ‘मोरङ हिसानबाट पनि रकम केन्द्रमा पठाउनेछौं । त्यसपछि एकमुष्ट रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ,’ हिसान मोरङका अध्यक्ष ढकालले भने ।