Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा भेटिएका मानव खप्पर, दाँत र हडडीको अवशेषसहितको मानव कङकाल रहस्यमै

हाम्रो कोशी आवाज
भाद्र २४ २०८३, बुधबार
धरानमा भेटिएका मानव खप्पर, दाँत र हडडीको अवशेषसहितको मानव कङकाल रहस्यमै

धरानः गएको भदौ २४ गते जेनजी आन्दोलनमा धरानको भाटभटेनी पनि तोडफोड र आगजनीको शिकार बन्यो ।
धरानको भाटभटेनी सुपरमार्केटभित्र जलेको अवस्थामा चारवटा शवका अवशेष भेटिएको थियो । भेटिएका बेवारिसे शव अर्थात् मानव कंकाल कसका हुन् र कसरी मारिए भन्ने रहस्यमै छ ।
भवनका पहिलो तल्लामा एउटा र तेस्रो तल्लामा शव पूरै जलेको अवस्थामा भेटिएको थियो । लुट्न पसेका चारजना भित्रभित्रै जलेको प्रहरीको दाबी छ । प्रहरीका अनुसार भाटभटेनीभित्र चारैजनाको पुरै जलिसकेको अवस्थामा मानव कङकाल भेटिएको थियो । त्यतिबेला शरीर जलेर पुरै कङकाल भएर हडडीको अवशेषहरू मात्रै भेटिएको थियो । आगोले जलेर शरीरको आकारमा खरानी भएको शवको खप्पर, दाँत र हडडीको केही अवशेषमात्रै भेटिएको थियो । सो अवशेषलाई प्रहरीले मुचुल्का उठाएर पोष्टमार्टम गर्न लगेको थियो ।
सबैको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए । ‘एकजना महिला भने मेरो श्रीमानको अन्तिम लोकेशन यहीँ भाटभटेनीमै देखिएको छ र हालसम्म बेपत्ता भएको भन्दै आएको पाइयो’, डिएसपी राईले भने, ‘त्यसपछि उनी पनि हालसम्म बेपत्ता नै छिन् । अन्य तीनजनाको खोजी गर्न हालसम्म पनि कोही आउएनन् ।’
उनले चारजनामध्ये एकजनाको भने आफन्तले लोकेसन मिलेको भनेपनि अन्यको भने कोही पनि दाबी गर्न वा खोजी गरिपाउँ भनेर निवेदन नदिएको बताए ।
सबै जलेर खरानी भइसकेकाले डीएनए समेत संकलन गर्न नसकिएको डिएसपी राई बताउँछन् । जलेर खरानी मात्रै भएको कारण डिएनए परीक्षण पनि असफल भएको उनले बताए । ‘मृत अवस्थामा फेला परेका चारैजनाको डीएनए परीक्षण पनि असफल भयो’, उनले भने, ‘थप अनुसन्धान गर्न कुनै प्रमाण नभेटेको कारण यसै भन्न सकिँदैन ।’
आगजनी हुनुभन्दा पहिला लुटपाट तथा चोरी गर्न छिरेका व्यक्तिहरू मृत्यु भएको प्रहरीको दावी छ । प्रहरी स्रोतका अनुसार तीन शव लुटपाट गर्न आउनेकै हुनसक्ने भएकोले पनि कोही नआएका हुनसक्छन् । ‘भाटभटेनीमा ठूलो लुटपाट भएको थियो’, सुरक्षा अधिकारीले भन्छन्, ‘ती शव लुटपाट गर्न आउनेकै हुन सक्ने हाम्रो अनुमान छ । त्यही भएर पनि परिवारले खोजी नगरेको हुन सक्छ ।’
भाटभटेनीको आगलागीमा फस्नेहरूले मोबाइल सम्पर्क गरेर घरमा फोन समेत गरेका थिए ।
जेनजी आन्दोलनको क्रममा २४ गते साँझ भाटभटेनीमा उच्छृङ्खल समूहले आगजनी र तोडफोड गरेको थियो । आगो नियन्त्रणमा आएपछि त्यहाँको अवस्था बुझ्न भित्र जाने क्रममा शव अर्थात मानव कंकालहरू फेला परेको थियो । लुटपाट गर्न जानेमध्ये एकजनाले हाम्फालेर ज्यान बचाएका थिए भने एक जनाको जल्दा जल्दै उद्धार भएको थियो ।
धरानको भानुचोकमा जेन्जी समूहले आन्दोलत स्थगित भएर सबै घर हिँडेको अवस्थामा अराजक समूहले बन्द रहेको भाटभटेनीको सटर फोडी पेट्रोल खन्याएर आगो लगाएका थिए । आगो तीव्र गतिमा फैलिँदा उनीहरू भित्रै फसेर जलेका थिए । तीनजनाको शव चौथो तलामा र एक जनाको शव दोस्रो तलामा भेटिएको थियो । मृतकको शरीर सबै जलेको र अस्तु मात्रै भेटिएको थियो ।
प्रत्यक्षदर्शीहरूका अनुसार भाटभटेनी बन्द भइसकेको तीन घण्टापछि करिब राति ९ बजेतिर अराजक समूह आएर तोडफोड गर्दै लुटपाट मच्चाउन थालेको थियो । उक्त समूहका १५–२० जना भित्र पसेको देखिएको स्थानीयले बताएका थिए ।
त्यतिबेला अराजक समूहले धरानक पूर्व मेयर, उपमेयर साथै पूर्व मेयर मनोजकुमार मेन्याङ्बोको बरगाछीस्थित होटल कन्चनजंघामा पुगेर तोडफोड गर्दै लुटपाट गरेका थिए । अराजक समूहले घरभित्र छिरेर नगद ७ लाख रुपैयाँ र बहुमूल्य गहनाहरू पनि लुटेको प्रहरीले जनाएको छ ।
धरानस्थित पुतलीलाइनमा रहेको भाटभटेनी ठीक एक वर्षअघि जलेकै दिन आज भदौ २४ गते बुधबारदेखि औपचारिक रूपमा पूर्ण क्षमताका साथ नयाँ र आधुनिकरूपमा ग्राहकको सेवामा प्रस्तुत भइसकेको छ अर्थात् सञ्चालनमा आइसकेको अवस्था छ ।

प्रकाशित मिति: भाद्र २४ २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend