धरानः २०८३ सालको संविधान दिवस भब्यताका साथ मनाउन कोशी प्रदेश सरकारले तयारी तीब्र बनाएको छ ।
असोज २, ३ र ४ गते संविधान दिवस भब्यताका साथ मनाइने भएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा ५०१ सदस्यीय संविधान दिवस, २०८३ मूल समारोह समिति गठन भइसकेको छ ।
कोशी प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार १० हजारको सहभागिता रहने गरी कार्यक्रमको तयारी गरिएको छ ।
संविधान दिवसका दिन असोज ३ गते विराटनगरस्थित शहीद रंगशालामा मूल समारोह हुनेछ । असोज ३ गते बिहान साढे ६ बजे आदर्श मावि विराटनगरअगाडि भेला भएर विभिन्न जातजाति, समुदाय तथा भेषभुषाको झाँकीहरूसहित प्रभातफेरी कार्यक्रम गरिनेछ । शहीद रंगशालामा प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यतामा मुख्यमन्त्री कार्कीको अध्यक्षतामा मूल समारोह हुनेछ । मूल समारोहमा खेलकौशल, प्रसिद्ध कलाकारहरुद्वारा राष्ट्रिय गीत प्रस्तुति र पुरस्कार वितरणलगायत कार्यक्रम गरिने छ ।
असोज २ गते खेलकुद बोर्डको आयोजनामा म्याराथुन दौड र ब्याडमिन्टन प्रतियोगिता हुनेछ । सामाजिक बिकास मन्त्रालयले जिल्ला बाट छनौट भएर आएका प्रतियोगीहरुको नेपालको संबिधान र संघीयता कार्यावन्यन विषयमा बक्तृत्वकला प्रतियोगिता गर्नेछ ।
यस्तै, जलवायु परिवर्तन र विपद ब्यवस्थापनमा प्रदेश सरकारको भूमिका विषयमा खुल्ला निबन्ध प्रतियोगिता गरिने छ । संविधान दिवसका अवसरमा अन्तरसंवाद तथा भिडियो प्रतियोगिता समेत आयोजना हुने कार्यक्रम छ । यस्तै, असोज ४ गते स्वास्थ्य मन्त्रालयको अगुवाईमा रक्तदान कार्यक्रम तथा पर्यटन वन तथा वातावरण मन्त्रालयको अगुवाईमा वृक्षारोपण कार्यक्रम गरिने भएको छ ।