धरानः सुनसरीमा ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरी हरिनगरा–५ का ५५ वर्षीय श्रीनारायण मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।
हरिनगर गाउँपालिका–६ स्थित भित्री सडकमा भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०५८ प ८३७२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी घुस्कीहाटबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा चलाएर आउँदै गरेका उनलाई पक्राउ गरेको हो ।
उनको साथबाट प्लास्टिकमा लुकाइछिपाई राखिएको ६.३३ ग्राम ब्राउन सुगर, नेपाली नगद २५ हजार ४६५ रुपैयाँ र भारतीय नगद ५५० रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।
सो लागूऔषध, नगद तथा मोटरसाइकलसहित मेहतालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. २ मरिया खोलामा इलाका प्रहरी कार्यालय देवानगञ्ज सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर०१सिए १४२३ नम्बरको भारतीय मोटरसाइकलसहित भन्सार छली अवैध रुपमा ल्याएका लत्ताकपडासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
१ लाख ३२ हजार ५ सय रुपैयाँ मूल्य बराबरको लत्ता कपडाहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय देवानगञ्ज सुनसरीमा ल्याई राखिएको प्रहरीले जनाएको छ ।