धरानः बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएको छ ।
सोमबार साँझ साढे ५ बजे कोशी लोकमार्गमा विरगञ्जबाट विराटनगर जाँदै गरेको को१ख ७९१३ नम्बरको बसले पश्चिमबाट बाटो क्रस गर्दै गरेको प्र.१–०४–००२ प.०३४६ नं.को १५० सिसीको पल्सर मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा चालक मोरङको बुढीगंगा गाउँपालिका ४ नेमुवा चौक बस्ने वर्ष ३६ को सुदीप खड्का गम्भीर घाइते बनेका थिए ।
उनको टाउको, छाती, दुवै हातखुट्टामा चोट लागेको गम्भीर अवस्थामा विराट टिचिङ अस्पतालमा उपचारका क्रममा ५ः५२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
खड्का सशस्त्र प्रहरी बल नेपाल बीओपी स्वर्णकट्टी, सप्तरीमा सहायक हवल्दार पदमा कार्यरत रहेको प्रहरीले जनाएको छ । उनी स्वर्णकट्टी सप्तरीमा कार्यरत रहेका थिए । बस र बस चालक सुनसरीको रामधुनी–५ बस्ने ४८ वर्षीय राजन दाहाल प्रहरी नियन्त्रणमा रहेका छन् ।
मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले तीब्र गतिका कारण दुर्घटना भएको जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।
पाँचथर फिदिम–१२ मिलन चौक फिदिम फालोट सडक खण्डमा भोटेगाउँबाट याङनमातर्फ जाँदै गरेको मे१त ५९३२ नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
२१ वर्षीय पूर्णकुमार लाम्गादेले चलाएको सो ट्याक्टरका सह–चालक पाँचथर हिलिहाङ–१ अमरपुर बस्ने १८ वर्षीय पवन मोतेको ट्याक्टरको इन्जिनको बाँयापट्टिको ठूलो चक्कामा परी घटनास्थलमै मृत्यु भएको प्रहरी सहायक निरीक्षक भरतबहादुर भण्डारीले जानकारी दिए । चालक प्रहरीको नियन्त्रणमा छन् ।