धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही स्थानका २० वर्षीय रबिन पुलामी मगर रहेका छन् ।
बुधबार बिहान करिब १० बजेतिर राघापुरबाट अक्करे भिर नजिक ढुङ्गा लिन जाने क्रममा ना १ लु ४ त १६७२ नम्बरको ट्याक्टर सडकबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटना भएको हो । ट्याक्टरमा पाँच जना सवार थिए ।
मानेभञ्ज्याङ ट्राफिक पोस्टका ट्राफिक प्रहरी जवान सीबी चाम्लिङका अनुसार दुर्घटनामा परी तिमल्सिना र पुलामी मगरको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा ट्याक्टर चालक मानेभञ्ज्याङ–८ का २४ वर्षीय मिलन राईसहित तीन जना सकुशल छन् । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।