धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ ।
धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट धरानमा ल्याइएका अकबरे खुर्सानीमा क्रमशः ४५.१७१५ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी र र १०.८४७२ कार्बामेट भेटिएको कृषि बजार व्यवस्थापन समिति धरानले जनाएको छ ।
धरान–१६ का ज्ञानबहादुर बस्नेतले ल्याएको १८ केजी खुर्सानीमा विषादी भेटिएपछि नष्ट गरिएको धरान उपमहानगरपालिकाका प्रशासन महाशाखा प्रमुख तथा बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिएका छन् । व्यापारी बस्नेत, कृषि बजारका बजार व्यवस्थापक लक्ष्मण भट्टराई, पत्रकारलगायतको उपस्थितिमा सो खुर्सानी नष्ट गरिएको हो ।
केन्द्रीय कृषि प्रयोगशालाले बिहीबार धरान बजारमा संकलित ९ वटा पसलबाट संकलित ९ थरी तरकारी तथा फलफूलको नमूना परीक्षण गर्दा यस्तो तथ्य सार्वजनिक भएको हो । परीक्षण अनुसार, सो खुर्सानीमा पाइएको विषादीको मात्रा सरकारले तोकेको सीमा भन्दा निकै माथि रहेको छ । सरकारको मापदण्ड अनुसार अर्गानोफस्फेटको मात्रा ३५ प्रतिशतभन्दा कम भएमा मात्र उपभोगयोग्य मानिन्छ ।
५ देखि ४५ प्रतिशतसम्म पाइएमा केही दिन राखेपछि मात्र खान मिल्ने प्रावधान छ भने ४५ प्रतिशतभन्दा बढी भएमा त्यस्ता तरकारी उपभोगका लागि पूर्णरूपमा अयोग्य ठहरिन्छन् ।
यसअघि धरानमा भेटिएका विभिन्न तरकारीमा अत्याधिक विषादी भेटिएपछि नष्ट गरिएको उदाहरण छन् ।
