धरानः अब भेडेटार–धरानमा जीपलाइनको आकर्षण थपिएको छ । भेडेटारदेखि सिधै धरानको देवीथानसम्म पुगेर यसको मज्जा लिन सकिनेछ ।
पर्यटकीय गन्तव्य भेडेटारदेखि धरान झर्न साहसिक खेलमा यो थप आकर्षण थपिएको हो । पर्यटन प्रवद्र्धनका लागि शुरु गर्न लागिएको जीपलाइनको शनिबार मुख्यमन्त्री शेरधन राईले पहिलोपटक उद्घाटन गर्ने कार्यक्रम छ ।
‘जीपलाइन’ अर्थात डोरीमा झुण्डिएर खेलिने खेलले भेडेटार–धरानमा रौनक बढाउने निश्चित रहेको वल्र्डवाइड प्रालिका केदारबहादुर थापाले जानकारी दिए । प्याराग्लाइडिङपछि यो साहसिक खेल भित्रिएको हो । यो बञ्जीजस्तै साहसिक खेल हो । पर्यटन वर्ष २०२० लाई लक्षित गरी ‘जीप लाइन’ शुरूवात भएको हो ।
सञ्चालनमा आउने ‘जीप लाइन’ मा तीन प्रकारका साहसिक खेल रहेका छन् । कम्पनीले एकजना मात्रे खेल्न मिल्ने गरी क्लासिक जीपलाइन, दुईजना अर्थात् प्रेमजोडी एकैपटक खेल्न मिल्ने गरी कप्पल जिपलाइन र सुतेर अनि हात फिँजाएर खेल्न मिल्ने सुपरम्यान गरी तीन प्रकारको साहसिक खेल सञ्चालनमा ल्याएको छ । पर्यटकहरुको आफ्नै रोजाइ र इच्छाका आधारमा ‘जीप लाइन’ को मज्जा लिन सकिने व्यवस्था भएको प्रालिकी सञ्चालक विवश भण्डारी बताउँछन् ।
‘जीप लाइन’ नेपाली पर्यटन बजारको क्षेत्रमा नितान्त नयाँ र फरक मान्न सकिन्छ । जीपलाइनमा मज्जा लिनका लागि क्लासिकल खेल (बसेर खेल्ने र एक्लै) को १२ सय र उद्घाटन अवसरमा ५० प्रतिशतसम्म छुट, सुपरम्यान फ्लाइङ खेल १५ सय, कपल जीप फ्लाइङको १८ सय रूपैयाँ दर तोकिएको प्रालिका विवश भण्डारीले जानकारी दिए ।
अन्य खेलको तुलनामा ‘जीपलाइन’ अर्थात डोरीमा झुण्डिएर खेलिने यो खेल निकै रोमाञ्चक मध्येको एक हो । यो धरान–भेडेटारको लागि नयाँ प्रडक्ट नै पनि हो । 