Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अपहरणमा परेको नाटक रचेर बुबासँग ३० लाख माग्ने छोरा सुनसरीको भण्टाबारीबाट पक्राउ

हाम्रो कोशी आवाज
फाल्गुन २८ २०७६, बुधबार
अपहरणमा परेको नाटक रचेर बुबासँग ३० लाख माग्ने छोरा सुनसरीको भण्टाबारीबाट पक्राउ

विराटनगरः अपहरणमा परेको नाटक गरेर आफ्नै बुबासँग फिरौती रकम लिने छोरालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी सार्वजानिक गरेको छ ।
फागुन २३ गते घरबाट निस्किएका बुढिगंगा गाउँपालिका–३ का २४ वर्षीय मुकेशकुमार महतोले सोही दिन आफ्नै बुबालाई अपहरणमा परेको भनी फोन गरेका थिए । घटना बारेका जानकारी पाएको जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा फागुन २६ गते सुनसरीको भान्टावारीमा मुकेश कुमारलाई फेला पारिएसँगै अपहरण नभई अपहरणको नाटक भएको खुल्न आएको हो ।
मुकेश पक्राउ परेसँगै फिरौतीको रकमसहित निजकै घरमा काम गर्ने २५ वर्षीय कृष्ण राजवंशीलाई समेत पक्राउ गरी बुधबार जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको हो । पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
कस्तो हो घटना ?
महतोको फोनमा गत शुक्रबार बिहान करिब ११ बजे २४ वर्षीय छोरा मुकेशकुमार महतोको फोन आउँछ । भयभीत र त्रसित आवाजमा छोरा मुकेशले आफू अपहरणमा परेको भन्दै रुँदै बुबा शिवनारायणसमक्ष विलाप गर्छन् । घरबाट हिँडेको करिब १ घण्टाको अवधिमा मुकेशको फोनले बुबा शिवनारायणलाई हतास बनाउँछ ।
मलिन स्वरमा अपहरणमा परेको जानकारी गराउँदै छोराले अपहरणकारीद्वारा ३० लाख रुपैयाँ फिरौती वा ज्यान गुमाउने धम्की दिएको सुनाएपछि बुबा शिवको अनुहार मलिन बन्छ, आवाज अवरुद्ध हुन्छ । छोराले फोन संवादका क्रममा प्रहरीलाई जानकारी गराए छोरा जिउँदो नभेट्ने धम्कीसहित अपहरणकारीले फोन अवरुद्ध बनाएको उनी बताँउछन् ।
छलफलपछि शनिबार उनी प्रहरी समक्ष घटनाको बेलिविस्तार गर्न पुग्छन् । जिल्ला प्रहरी कार्यालय मोरङमा प्रहरीसँगको लामो छलफलपछि प्रहरीको टोलीले सुक्ष्म रुपमा अनुसन्धान अघि बढाउँदै जान्छ । सोमबार होलीका दिन पुनः बुबा शिवलाई फोन गर्दै छोरा मुकेशले आफूलाई कोशी ब्यारेज नजिक लुकाएको जानकारी दिन्छन् । फोनमा बताएअनुसार सोमबार अपराह्नतिर बुबा शिवले छोरोको ज्यान जोगाउन २१ लाख रुपैयाँ फिरौती रकम बुझाउँछन् । त्यसैक्रममा प्रहरीले बेलुका करिब ५ बजे प्रहरी निरीक्षक ऋषि ढकालको टोलीले मुकेशलाई सुनसरीको भण्टाबारीबाट नियन्त्रणमा लिन सफल हुन्छ ।
त्यसपछि प्रहरीले मुकेशलाई फिरौती बुझ्नेलाई रकम लिन आउँदै छु भन्न लगाउँछ, सोही अनुसार घटनाक्रम अघि बढ्छ । प्रहरी निरीक्षक ऋषिका अनुसार मुकेशसँगै फिरौती रकम बुझ्ने बाँसवारीकै कृष्ण राजवंशी प्रहरी नियन्त्रणमा पर्छन् ।
प्रहरी निरिक्षक ढकालले भने, ‘पक्राउ परेकाहरुले फिरौती रकममध्ये १ लाख १० हजार रुपैयाँ अशोक यादवलाई बुझाइसकेको थिए । त्यसैगरी, स्थानीय एक पेट्रोल पम्पमा २५ हजार रुपैयाँ डिजेलको तिरेको र मुकेशले १० हजार रुपैयाँ लहानकी प्रिती राजवंशीलाई उपलब्ध गराएको र २ हजार रुपैयाँ कृष्णले खर्च गरेको प्रहरीले जनाएका थिए ।’
प्रहरीका अनुसार अपहरणको नाटक गरेका मुकेश आफैपनि टिफर, स्काभेटर भाडामा लगाउँदै आएका ब्यवसायी हुन् । चर्को मिटर ब्याजमा फसेका मुकेशले प्रहरी समक्ष १ वर्षअघि मिटर ब्याजमा ५ लाख रुपैयाँ लिएर ९६ लाख परिवारले तिर्नुपरेको बताएका छन् । यद्धपी प्रहरीले यस नाटकीय अपहरणको थप अनुसन्धान सुरु गरेको जनाएको छ । 

प्रकाशित मिति: फाल्गुन २८ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend