धरानः धरानमा गत १५ गतेदेखि लागेको जुत्ता–चप्पल व्यापार बजारमा स्वदेशी ब्राण्डमै उपभोक्ताको आकर्षण बढेको छ ।
व्यापार बजारमा नेपालमै उत्पादित विभिन्न मोडलका जुत्ता–चप्पल राखिएका छन् । उनका अनुसार गोल्डस्टार, कोसेली, क्रस रोड, ल्याण्ड वाक, शिखर, हाइलाइफ, विएफडी आर हिल, सुल्याण्डलगायतका कम्पनीका जुत्ता–चप्पल राखिएका छन् ।
चैत १० गतेसम्म चल्ने ब्यापार बजारमा अहिले पनि चहलपहल बढ्दो छ । धरानमै फेसनेबलदेखि स्कुले विद्यार्थीको जुत्ता–चप्पल छानी छानी लगाउन पाइन्छ । ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नाराका साथ धरानमा औद्योगिक व्यापार मेलासँगै जुत्ता–चप्पल बजार पनि लागेको हो । अवलोकनकर्ता धरानेले स्वदेशी जुत्ता–चप्पल उद्योगहरू फस्टाएको भन्दै प्रशंसा गरेको फुट वेयर मेनिफ्याक्चरल एशोसिएसन नेपालका अध्यक्ष कृष्ण फुयाँलले जानकारी दिए ।
बजार मेलामा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था रहेको उनी बताउँछन् । ‘धराने फेसनेबल सहर हो भन्ने हामीले बुझेका छौं, फेसनेबल जुत्तादेखि स्कुले विद्यार्थीका लागि चाहिने सबै प्रकारका जुत्ता–चप्पल, युवा, वृद्धवृद्धा सबैलाई फिट हुने प्रकारका जुत्ता–चप्पल व्यवस्था गरेका छौं ।’
उनले व्यापार बजारमा करिब २ लाखले अवलोकन गर्ने अपेक्षाका गरिएको बताए । मेलामा स्वदेशी जुत्ता चप्पल किन्नेको संख्यामा उल्लेख्य भीड लागेको छ । मेलामा कम्पनी मूल्यमै जुत्ता पाइने उनको भनाइ छ । ‘धेरैजसो दिइने छुट स्टलमै खुलाइएको छ’, उनले भने, ‘यसले उपभोक्तालाई सहज हुनेछ ।’
सयौं मोडेलका जुत्ता उपलब्ध हुने हुनाले ग्राहकलाई पनि छनोट गर्न सहज हुने आयोजकको भनाइ छ । स्वदेशी उत्पादनको प्रवद्र्धननका लागि मेला आयोजना गरिएको उनले जानकारी दिए । स्वदेशी जुत्ता–चप्पलको ब्राण्डलाई चिनाउनका लागि समेत मेला महत्वपूर्ण हुने उत्पादकहरूको अपेक्षा रहेको उनले बताए ।
जुत्ता–चप्पलमा विशेषगरी ग्यारेन्टी पनि दिइएको छ । ६ महिनादेखि एक वर्षको ग्यारेन्टी दिँदै जुत्ता–चप्पल बिक्री भइरहेको अध्यक्ष फुयाँलले जानकारी दिए । ‘ग्यारेन्टी दिएपछि उपभोक्तामा विश्वास बढ्दै गएको छ ।’ उनले भने । सयौं मोडेलका जुत्ता उपलब्ध हुने हुनाले ग्राहकलाई पनि छनोट गर्न सहज हुने आयोजकको भनाइ छ ।

