धनुषाः धनुषामा घरेलु मदिरा (रक्सी) पिउँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ । हालसम्म १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका २ रमदैया बस्तीमा २ सातायता मदिरा मदिरा पिउँदा मृत्यु हुनेको संख्या १२ पुगेको हो ।
पछिल्लो पटक उपचारको क्रममा इन्द्रजीत महरा, सत्रुधन मण्डल र माउसराम यादवको मृत्यु भएको हो । उनीहरुको शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
इन्द्रजीतको धरानस्थित बीपी प्रतिष्ठानमा, शत्रुधनको जानकी मेडिकल शिक्षण अस्पतालमा र माउसराम यादवको घरमै मृत्यु भएको स्थानीय उमेश यादवले जानकारी दिए । होली पर्वको अवसरमा मदिरा सेवन गरेका स्थानीय ४० वर्षीय ब्रमहेव यादव, ३५ वर्षीय विलास मण्डल, ६० वर्षीय गुदरी महरा, रामनारायण महरा र ससुराली घरमा बस्दै आएका धनुषाकै रूपैठाका राजु महरासहित ५ जनाको बुधबार र बिहीबार मृत्यु भएको थियो ।
दुईसाता अघि रमदैया गाउँकै बस्तीमा मदिरा सेवनबाट निरश यादव, भुटन सदा, दशै महरा र विजय सदाको मृत्यु भएको पुष्टि भएको छ ।
ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले अहिलेसम्म ७ जनाको मात्रै मृत्यु भएको दाबी गरे । तर स्थानीयले भने बुधबार यता मात्रै मदिरा पिउँदा ८ जनाको मृत्यु भइसकेको बताएका छन् ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयामा रक्सी पिउँदा १२ जनाको मुत्यु घरेलु मदिरा उत्पादन तथा बिक्री गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार स्थानीय रमानन्द साह, तारा पट्टीबालि भनिने छठियादेवी मण्डल, धुरण यादव, जगतकुमार यादव, शीतलदेवी यादव, महोतरी भंगहा नगरपालिका–३ का जगतनारायण मण्डल, धनुषा लक्ष्मिनियाँ गाउँपालिका–६ बगेवाका नवीन यादवलाई पक्राउ गरिएको हो ।