Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानेलाई नै आउँछ नयाँ नयाँ शैली र नयाँपन दिन, ‘मान्छेको गुँड’ ले पर्यटक तान्न थाल्यो, धरानमा अर्को गन्तव्य थपियो

हाम्रो कोशी आवाज
चैत्र १ २०७६, शनिबार
धरानेलाई नै आउँछ नयाँ नयाँ शैली र नयाँपन दिन, ‘मान्छेको गुँड’ ले पर्यटक तान्न थाल्यो, धरानमा अर्को गन्तव्य थपियो

धरानः धरानेलाई नै आउँछ नयाँ नयाँ शैली र तरिका भन्ने त यसअघि पनि पुष्टि भइसकेको छ । धरानमा ट्री हाउस बनाएको धेरै भएको छैन । त्यहाँ स्थानीय पर्यटकको ओइरो लाग्यो, फोटो खिच्ने, सेल्फी हान्ने अनि खाने, रमाउने त्यो गन्तव्य नै बन्यो ।
धरान–१३ शिवधारा (चोकको) डाँडाको रूखमा ट्री हाउस सञ्चालनमा आएको हो । रूखमा आकर्षक कटेज बनाएर यस्तो ट्री हाउस सञ्चालनमा आएपछि रमाउने गन्तव्य बनेको हो । यस्तै, धरान–१३ मा बीपी पार्क बन्यो । गर्मी सिजनमा शुरू भएको र भेडेटार बिर्साउने मौसम भन्दै त्यहाँ स्थानीय पर्यटकको ओइरो नै लाग्यो । अहिले ती स्थानमा स्थानीयदेखि बाह्य पर्यटक पनि आइरहेका छन्, रमाइरहेका छन् ।
केही हप्ताअघि धरानकी मोडल तथा आरजे मेरिना तुम्साले फेसबुकमा पोष्ट्याइन्– लेट्स प्रमोट आवर धरान, द फरिष्ट इन रिसोर्ट, ह्वाट अ ब्युटीफूल डे । त्यसपछि केहीदिनअघि मेरिना राईले पनि त्यस्तै, त्यस्तै फोटो खिचेर फेसबुकमा पोट्याइन् । अहिले सो ठाउँ पुगेर फोटो खिच्ने, सेल्फी हान्ने अनि पोष्ट्याउने बढेका छन् । सञ्चालकका अनुसार दिनमै सयौं स्थानीय त्यहाँ आइपुग्छन् । आखिर के छ त्यस्तो ।
त्यस्तो केही छैन, फरक तरिकाले फरकपन तथा नयाँपन दिन खोजेका छन् धरानकै सुरज तामाङले । होटल सामान्य छ । ‘द फरिष्ट इन’ नाम दिइएको होटल सञ्चालन गरेका उनले होटल वरिपरी बाँसको चित्राले बारेका छन्, छाना सामान्य टिनको लगाएका छन् तर छेउछाऊ पिङ हालेका छन्, फोटो खिच्ने ठाउँ राम्ररी सिङ्गारेका छन्, मान्छेको गुँड, राउण्ड गुँड, झोलुङ्गो पिङ बनाएका छन् । पिङको ‘ब्याक’ तर्फ राम्रा राम्रा फोटो टाँसेका छन्, त्यही पुगेर स्थानीयदेखि बाह्य पर्यटक फोटो खिच्न तम्सिने गरेका छन् । यो गन्तव्य धरान–१३ शिवधारा छेऊ अवस्थित छ ।
‘व्यवसाय गर्न र ग्राहक तान्न नयाँपन र फरक शैली प्रस्तुत गर्न सकिएन व्यवसाय चल्दैन भन्ने मैले बुझेको छु’, उनले भने, ‘फरकपन दिएर पर्यटकलाई तानेर खाँदै रमाउने वातावरण सिर्जना गर्नु मेरो उद्देश्य हो ।’ उनले त्यहाँ प्रवेश गर्नका लागि निःशुल्क प्रवेशको व्यवस्था गरेका छन् । ‘सबैले यहाँ छिरेर फोटो खिचेपछि खानैपर्छ भन्ने छैन, रमाउनुपर्छ भन्नेचाहिँ हो,’ उनले थपे, ‘रमाएरै जाँदा पनि म सन्तुष्ट छु ।’ मान्छेको गुँड भनेर चराको गुँड आकारको बनाएका उनले मानिसहरू चराजस्तै बनेर फोटो खिचिदिँदा रमाइलो मान्छन् । ‘अरु त त्यस्तै हो, फोटो खिचाउनचाहिँ दामी छ’, धरान–१७ की प्रनिता राईले भनिन्, ‘साँच्चै मजा र बबाल फोटो आउँदो रहेछ ।’
होटलै मात्रै हो भने खासै चल्दैन भन्ने बुझेका उनले नौलोपन दिएको बताउँछन् । उनी विदेश हान्निएर आएपछि यसमा लगानी गरेका हुन् । ‘दुबईमा तीन वर्ष सेक्युरिटी गार्ड गरेर फर्किएको हुँ’, उनले भने, ‘त्यहाँ कमाएपछि होटल खोल्न मन लागेको हो ।’
उनले धरानमा घुम्ने ठाउँ अर्थात् पार्क नभएको बताए । ‘धरानमा पार्क पनि छैन, पर्यटक आउँदा अर्थात् कोही थकाइ मार्न परे पनि ठाउँ छैन, त्यही भएर यस्तो बनाएको हुँ, आउँछन्, थकाइ मार्छन्, भलाकुसारी गर्छन्, खानेले खान्छन् अनि जान्छन् ।’ उनले धरानलाई नै चिनाउन यस्तो गरेको बताए । ‘यस्तो कुराले पनि धरानलाई चिनाउन सकिन्छ, यहाँ पर्यटक बढ्छन्, आर्थिक समृद्धि हुन्छ ।’ उनले थपे । उनले यो ठाउँ समय बिताउने, फुर्सदिलोका लागि फाइदाजनक भएको बताए । ‘फोटो खिच्दा रमाइलो मात्रै हुँदैन, समय बित्छ, यादगर हुन्छ ।’ उनी भन्छन् ।
हालसम्म ८ लाख बढी लगानी गरिसकेका उनले यसलाई अझै व्यवस्थित गरेर राम्रो फोटो खिच्ने ठाउँ बनाउन लागेको बताए । ‘अबको केही हप्तापछि यो फरक स्वरूपमा पाउनुहुन्छ, अझै व्यवस्थित र राम्रो अनि यादगर हुन्छ ।’ उनले अहिले सामाजिक सञ्जालमा फोटो हेरेर फोटो खिच्न र टिकटक बनाउने दिनहुँ भीड लाग्ने गरेको बताए । ‘दिनमा एक सय बढी आइपुग्छन्, हेर्दा सिम्पल भएपनि फोटोचाहिँ दामी आउने रहेछ भनेर फर्किने गरेका छन् ।’ उनले भने ।
अहिलेका पुस्तामा फेसबुकमा राम्रो फोटो खिचेर पोष्ट्याउने ‘ट्रेण्ड मौलाएको छ, त्यही भएर यहाँ पुस्ता ओहोरदोहोर गरिरहने गरेको उनले बताए । ‘ट्रेण्ड नै फेसबुक अर्थात् सामाजिक सञ्जालमा कसरी राम्रो फोटो पोष्ट्याउने भन्ने छ, त्यही भएर मैले पनि उहाँहरूका लागि कसरी राम्रो गर्न सक्छु भनेर अझै व्यवस्थित गर्दैछु ।’ उनी भन्छन् ।
साँच्चै भन्ने हो भने अब धरानका यी तीन गन्तव्य (ट्री हाउस, बीपी पार्क र द फरिष्ट इन) फुर्सदिलो समयमा थकाइ मेटाउने, रमाउने र जमघट हुने गन्तव्य नै बनेको छ भन्दा अत्युक्ति नहोला । ट्री हाउसमा अहिले पनि खचाखच फोटो खिच्ने, रमाइलो मान्नेहरू बढेका छन् भने बीपी पार्कले पनि पर्यटक लोभ्याउँदै गएको छ । 

प्रकाशित मिति: चैत्र १ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend