धरानः विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको खोपको मानवमा परीक्षण सोमबारदेखि नै शुरू भइसकेको छ ।
अमेरिकामा उत्पादन भएको खोपको ‘क्लिनिकल ट्रायल’ अन्तर्गत सोमबार स्वतस्फूर्त रुपमा परीक्षण डोज लिनका लागि तयार भएका व्यक्तिमा खोप दिइने सरकारी अधिकारीले बताएका छन् । अमेरिकाको नेशनल इन्स्टिच्युड अफ हेल्थले परीक्षणको व्यवस्था मिलाएको समाचार संस्था एपीले उल्लेख गरेको छ । सियाटलमा रहेको वासिङ्टन हेल्थ रिसर्च इन्स्टिच्युडमा परीक्षण हुनेछ ।
कुनै पनि सम्भावित खोपले पूर्ण स्वीकृति पाउनका लागि एक वर्षदेखि डेढ वर्ष लाग्ने स्वास्थ्य अधिकारीले बताएका छन् । खोपको परीक्षणका लागि ४५ जना वयश्क स्वतस्फूर्त रुपमा तयार भएका छन् ।
खोपको ‘साइड इफेक्ट’ कस्तो हुन्छ भन्ने हेर्नका लागि प्रारम्भिक परीक्षण गर्न लागिएको र यसले विस्तारित स्तरमा परीक्षणका लागि मार्ग प्रशस्त गर्ने जनाइएको छ । परीक्षण गर्न लागिएको खोपमा भाइरसको संक्रमणबाट जोगाउने वा रोगविरुद्ध लड्ने क्षमता बढाउन सहयोग गर्ने अनुसन्धानकर्ताले बताएका छन् । अहिले परीक्षण गर्न लागिएको खोपलाई एमआरएनए–१२७३ नाम दिइएको छ ।