धरानः धरान-९ की मिना विश्वकर्मा यसअघि घरमै बस्दा बस्दा दिक्क लाग्दथ्यो भन्छिन् । अहिले तालिम लिन थालेपछि केही गर्छु भन्ने आशा जागेको छ । ‘तालिम लिँदैछु, केही सीप सिकेर आफै आत्मनिर्भर बन्छु भन्ने आँट पलाइसकेको छ’, उनले भनिन्, ‘महिला आत्मनिर्भर बने व्यवहारिक कठिनाइदेखि अन्य कुरामा सहर्ष सहयोग पुग्छ ।’
त्यस्तै, सुजाता प्रधानको दैनिकी बालबालिकाको स्याहार–सुसारमै बित्थ्यो । सीप नभएकै काण ५ रुपैयाँ आवश्यक पर्दा पनि उनले श्रीमानको मुख ताक्नुपथ्र्यो । तर, अहिले भने उनको दैनिकी फेरिएको छ । तालिम लिँदै आएकी उनले घर पुगेपछि खाली हात बस्नुपर्दैन, तालिम लिएका कुरा कसरी व्यवहारमा उतार्ने भन्दै उनी लागिपरेकी छिन् । उनले विभिन्न कपडा बुन्न थालेकी छिन् । ‘सीप सिकेर केही गरेर श्रीमानलाई सहयोग गर्ने इच्छा छ ।’ उनले खुलाइन् । उमा आचार्य, कविता कटुवाल मात्रै होइन २० जना महिला नै अहिले आत्मनिर्भर बन्न कम्मर कसेर लागेका छन् । ‘आफूले सिकेको सीपलाई व्यवसायमा लगाउँछु नै भन्ने छ’, आचार्यले भनिन् ।
धरानमा उपमहानगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउन सीप विकास तालिमलाई जोड दिएको छ । आधारभूतदेखि डिप्लोमासम्मको सीप सिकाइ महिलालाई आत्मनिर्भर बनाउनका लागि उपमहानगरपालिका लागि परेको छ ।
धरान–१८ मा महिलाका लागि घरमै बसी धुप बनाउने तालिम दिएर आत्मनिर्भर बनाउने प्रयास गरिएको छ । यस्तै, धरान–९ का महिलालाई आत्मनिर्भर बनाउने प्रयास थालिएको छ । सिलाइ कटाइ मेसिनबाट सिलाइ बुनाइका सीप सिकाउन थालिएको छ । सीप सिकाइबाट महिलाहरूलाई आत्मनिर्भर बनाउन उपमहानगरपालिकाले विभिन्न सीप विकास तालिमहरू सञ्चालन गरिरहेको धरान–९ का वडाध्यक्ष रत्नबहादुर कटुवालले बताउँछन् ।
आम्दानी दिने खालका काममा सामान्य सीपसमेत नभएका कारण महिलाहरु आयआर्जनका काममा लाग्न नसकेकोले उनीहरूलाई सीप विकासको तालिम दिन उपमहानगरपालिका लागि परेको उनको भनाइ छ । ‘यसैलाई ध्यान दिँदै उपमहानगरभरीका महिलाहरूलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न योजनाका साथ लागिपरेका छौं,’ उनले भने । यसअघि पनि महिलाले अचार बनाउने, पाउरोटी बनाउने लगायतका तालिम लिइसकेको उनले बताए ।
आयआर्जनमूलक पेशामा महिलाहरु लाग्न नसकेकाले उनीहरूलाई यस पेशामा आवद्ध गराउन नगरपालिकाको विशेष ध्यान गएको उनको भनाइ छ । ‘महिलाहरू सदिऔंदेखि चुलो र चौकोमा मात्र सीमित छन्, उनीहरु आय आर्जनमा जोडिन सकेका छैनन्,’ उनले भने, ‘उनीहरूमा सीप विकास गर्न सकियो भने धेरै महिलाहरु आयआर्जनमा जोडिन सक्छन्, घरमै बसी बसी पनि कमाउन सक्छन्, यसले समग्र परिवारको आर्थिक स्तर राम्रो हुन्छ ।’
यो तालिम ९ नं. वडाले निःशुल्क दिएको हो । तालिममा ९ नं. वडाका २० जना महिला दिदीबहिनीहरू सहभागी छन् । तालिमबाट महिलाहरूको सीप विकास र उद्यमशिलतामा सहयोग पुग्ने साथै पछाडी रहेका महिलाहरुको जीविका आर्जनमा समेत सहयोग पुग्ने वडाध्यक्ष कटुवालको छ । नेपाल सरकार सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ को संयोजन, प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् , मनमोहन स्मृति पोलिटेक्निक मोरङ र धरानको ९ नं. वडा कार्यालयको सहकार्यमा तालिम आयोजना भएको वडाकी कर्मचारी देवकी बजगाइले जानकारी दिइन् । तालिम दैनिक ६ घण्टाका दरले ६५ दिनसम्म अर्थात ३९० घण्टाको सञ्चालन हुनेछ । तालिमपछि सिटीइभिटीबाट मान्यता प्राप्त प्रमाणपत्र समेत दिइन्छ । 