Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका होटल व्यवसायीको मागः कोरोना प्रभावभरी बैंकको किस्तामा तागेता नहोस्, बैंकको ब्याज छुट होस् सरकार !

हाम्रो कोशी आवाज
चैत्र ७ २०७६, शुक्रबार
धरानका होटल व्यवसायीको मागः कोरोना प्रभावभरी बैंकको किस्तामा तागेता नहोस्, बैंकको ब्याज छुट होस् सरकार !

धरानः धरानका होटल व्यवसायीले स्थानीय, प्रदेश र संघीय सरकार गुहारेका छन् । संघीय सरकारसमक्ष माग राख्दै उनीहरूले कोरोनाको प्रभाव रहुञ्जेल बैंकको व्याज तथा किस्तामा बैंकले तागेता नगरोस् भन्ने माग राखेको बताएका छन् । उनीहरूले शुक्रबार धरानमा पत्रकार सम्मेलन नै आयोजना गरेर संघीय सरकारसमक्ष माग राख्दै भनेका छन्–होटलका नाममा रहेको बैंक ब्याज छुट गरिदिनुहुन, कोरोना प्रभाव रहुञ्जेल किस्ताका लागि तागेता नगर्न तथा किस्ता सहुलियत गरिदिन माग गरेका छन् । यस्तै, धरानको पर्यटन विकासका लागि पूर्वाधारमा लगानी, धरानको पर्यटन विकासका लागि यस समितिलाई साझेदारका रुपमा सूचीकृत गर्न पनि माग गरेका छन् ।
यस्तै, प्रदेश सरकारसमक्ष पनि माग राख्दै उनीहरूले पर्यटन क्षेत्र घोषणा कार्यक्रम तुरुन्त लागू गरिनुपर्ने, प्रदेश सरकारले निर्णय गरेको धरान पर्यटन निर्देशनालय कार्यालय स्थापना गर्ने कार्यक्रम लागू गरिनुपर्ने, पर्यटन क्षेत्र घोषणा भएपछि सो अनुसारको पूर्वाधारको विकासमा लगानी गर्न, सरकारले गर्ने गोष्ठी, सभा, तालिम आदि धरानमा समेत ल्याउन साथै धरानलाई माउण्टेन टुरिजमको हबका रुपमा विकास गर्न माग गरेका छन् ।
यस्तै, स्थानीय सरकारसमक्ष धरानको पर्यटन व्यवसाय रुग्ण बन्दै गएको जनाउँदै रुग्ण व्यवसाय घोषणा साथै कर, शुल्क, दस्तुर आदिमा छुट गरिदिन आग्रह गरेका छन् । यस्तै, धरानलाई प्रदेश १ को हब निर्माणमा पहल गर्न, धरानमा तत्काल पर्यटक सूचना केन्द्र स्थापना गर्न पनि उनीहरूले माग गरेका छन् ।
संयोजक मनोजकुमार मेन्याङ्बोद्वारा जारी प्रेस विज्ञप्तिमा अन्य पर्यटनसम्बन्धी महत्वपूर्ण विषयलाई पनि समेट्ने कोसिस गरिएको छ । उनकै संयोजकत्वमा धरानमा होटल व्यवसायीको हकहितको लागि भन्दै गत फागुन ३० गतेको बसेको आवासीय होटल व्यवसायीहरूको भेलाले ९ सदस्यीय तदर्थ समिति गठन गरेको थियो । समितिको सचिवमा बासु बराल, कोषाध्यक्षमा गोपाल आचार्य, सदस्यमा रविन अधिकारी, नारायण पन्धाक, एलिना मगर, प्रमेश श्रेष्ठ, दिलु लिम्बू, विशाल राई छन् । उनीहरूले धरानका सबै होटल व्यवसायीलाई समेट्ने जमर्को गरेको बताएका छन् ।
‘कोरोना भाइरसको त्रासले पर्यटक आउन छाडेपछि धरानका होटल व्यवसायीले बैंकको व्याज र किस्ता बुझाउन नसक्ने अवस्था छ’, सचिव बासु बराल भन्छन्, ‘बैंकको व्याज छुट र किस्ताको भाका बढाइदिए पनि भइगयो नि ।’
पर्यटकको मुख्य मौसममा कोरोना भाइरसको प्रभावले धरानका होटलहरु सुनसान जस्तै छन् । अहिलेको कमाइले कर्मचारीको दैनिक खानपानसमेत धान्न नसकेपछि अधिकांश होटलले कर्मचारीलाई बिदा दिन थालेका छन् । ‘व्यापार घटेपनि रोग नभित्रिएमा आउँदा दिनमा ऋण तिर्न सकिने भन्दै अहिलेका लागि टिक्न सरकारको सहयोग आवश्यक रहेको छ’, संयोजक मेन्याङ्बो भन्छन् ।
फोटोः लक्ष्मण थापा 

प्रकाशित मिति: चैत्र ७ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend