धरानः धरानमा चैत १० गतेसम्म चल्ने भनिएको जुत्ता–चप्पल व्यापार बजार पनि प्रभावित भएको छ ।
कोरोनाका कारण सरकारले सार्वजनिकस्थलमा भेला नहुन निर्देश जारी भएसँगै जुत्ता–चप्पल मेला पनि शुक्रबारसम्म मात्रै लागेको हो । ‘१० गतेसम्म सञ्चालन गर्ने भनेका थियौं, शुक्रबार अन्तिम दिन रह्यो’, फुट वेयर मेनिफ्याक्चरल एशोसिएसन नेपालका अध्यक्ष कृष्ण फुयाँलले भने ।
धरानमा गत फागुन १५ गतेदेखि जुत्ता–चप्पल व्यापार बजार मेला लागेको थियो । स्वदेश जुत्ता–चप्पललाई प्रवद्र्धन र प्रचार गर्ने भन्दै धरानमा पहिलोपटक यस्तो मेला लागेको हो । व्यापार बजारमा नेपालमै उत्पादित विभिन्न मोडलका जुत्ता–चप्पल राखिएका थिए । उनका अनुसार गोल्डस्टार, कोसेली, क्रस रोड, ल्याण्ड वाक, शिखर, हाइलाइफ, विएफडी आर हिल, सुल्याण्डलगायतका कम्पनीका जुत्ता–चप्पल राखिएका थिए ।
ब्यापार बजारमा चहलपहलचाहिँ थियो तर धरानमा यसपटक कोरोना त्रासकै कारण व्यापार पनि ठीकै मात्रै भएको उनले बताए । ‘हाम्रो उद्देश्य व्यापार नै गर्नुपर्छ भन्ने थिएन, यसपटक धरानेलाई नेपालमै बनेका जुत्ता–चप्पल पनि खप्ने साथै स्वदेशमै पनि यतिका जुत्ता–चप्पल बनेका रहेछन्, स्वदेशमै बनेका जुत्ता–चप्पल पनि रहेछन् र खप्छन् पनि भन्ने सन्देश दिएर फर्किएका छौं ।’ उनले भने । उनले जति जना धराने आए उनीहरूले जुत्ता–चप्पल किनेर फर्किएको बताए । ‘जति जना आउनुभयो उहाँहरूले ३ जोरसम्म जुत्ता–चप्पल किनेर फर्किनु भएको छ, यो स्वदेशी ब्राण्डप्रतिको माया र विश्वास ठानेका छौं ।’ उनले भने ।
मेलामा फेसनेबलदेखि स्कुले विद्यार्थीको जुत्ता–चप्पल राखिएको थियो । ‘हाम्रो नारा नै थियो स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान, त्यसैले प्रवद्र्धन गर्नुथियो प्रवद्र्धन भयो, फर्कियौं ।’ बजार मेलामा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था रहेको थियो ।
