Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोना जोखिमः धरानमा अत्यावश्यकका पसलबाहेक सबै बन्द रहने ! अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोध

हाम्रो कोशी आवाज
चैत्र १० २०७६, सोमबार
कोरोना जोखिमः धरानमा अत्यावश्यकका पसलबाहेक सबै बन्द रहने ! अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोध

धरानः कोरोना सङ्क्रमणको त्रास बढेपछि धरान उपमहानगरपालिकामा पनि ‘लकडाउन’ भएको छ ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको त्रास बढेपछि लकडाउन गर्ने निर्णय भएको धरान उपमहानगरपालिकाकी मेयर तिलक राईले बताएका छन् । लकडाउन भएपछि धरान जाने र आउने सवारी रोकिएका छन् । बजार पसलमा मानिसको आवागमन घटेको छ ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन धरानमा पनि अत्यावश्यकबाहेक सबै बजार, होटल, मनोरञ्जन, खेलस्थलहरू बन्द भएका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार अत्यावश्यक खाद्यान्नलगायतको पसलबाहेकका अन्य होटल, पसलहरू पनि सबै बन्द हुनेछन् ।
कोरोना भाइरस अप्रत्याशित ढंगले अनियन्त्रित रूपमा विश्वभरि फैलेका कारण सम्भावित सङ्क्रमणबाट बच्नको लागि धरान उपमहानगरपालिकाले लकडाउन घोषणा गरेको छ ।
धरान उपमहानगरपालिकाले सोमबार भानुचौकबाट धरानवासीलाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र अत्यावश्यक बाहेकका सवारी साधन नचलाउन र सार्वजनिक यातायातका साधन नचलाउन अनुरोध गर्दै लकडाउन गरिएको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताए ।
उता मंगलबारदेखि प्रदेश एकभरी सार्वजनिक सवारी साधनहरूमा लकडाउनको घोषणा गरिएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
यसैबीच सुनसरी उद्योग वाणिज्य संघले पनि सोमबार एक सूचना जारी गरी अति आवश्यक वस्तुको कारोबार गर्ने व्यवसायबाहेक अन्य व्यवसाय चैत २१ गतेसम्म बन्द गर्न आग्रह गरेको छ । ‘अति आवश्यक वस्तुको कारोबार गर्ने व्यवसायबाहेक अन्य व्यवसायहरू चैत १० गते देखि २१ गतेसम्म बन्द गरी घरभित्रै सुरक्षित रहन सम्पूर्ण व्यवसायीहरुलाई अनुरोध गरिएको छ’, जारी सूचनामा भनिएको छ ।
संघले बुधबार अर्को विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको महामारीबाट उत्पन्न समग्र वस्तुस्थितिलाई ध्यानमा राखी उद्योगी, व्यवसाय क्षेत्रको राहतका लागि यस अवधिको बैंक तथा वित्तीय संस्थाको व्याजको आधार दर गणना गरी ऋण तथा ब्याज रकम भुक्तानीका लागि आगामी असार मसान्तसम्म समयावधि थप गर्नुपर्ने माग गरेको छ ।
विज्ञप्तीमा बैंक लगायत कर भुक्तान लगायतको राहत सुविधाको माग गर्दै भनिएको ‘पूर्ण प्याकेजका सहयोगको कार्यक्रम ल्याउन सुनसरी उद्योग वाणिज्य संघ नेपाल सरकार लगायत सम्बन्धित निकायसँग जोडदार माग गर्दछ । साथै कोरोना भाइरसको रोकथाम र नियन्त्रणका उपायहरु अबलम्बन गर्न सरकार, सम्बन्धित सरोकारवाला मन्त्रालय तथा अन्य निकायमा अनुरोध गर्दै सम्पूर्ण उद्योगी, व्यवसायी लगायत आम उपभोक्ताहरुलाई सचेत, सजग र सुरक्षित रहन समेत अपिल गर्दछौं ।’
संघका अध्यक्ष गिरिधारी सापकोटाको हस्ताक्षरमा जारी विज्ञप्तीमा भनिएको छ–यस कठिन परिस्थितिमा हामी सबै उद्योगी व्यवसायीहरुले आआफ्नो क्षेत्रबाट भोली आउन सक्ने विपत्ति समेतलाई दृष्टिगत गरी आफ्नो भूमिका प्रभावकारी ढंगले निर्वाह गर्नुपर्ने बेला आएको छ । यसतर्फ सम्पूर्ण उद्योगी व्यवसायीहरुको गम्भीर ध्यानाकर्षण र सचेत गराउँदछौं ।

प्रकाशित मिति: चैत्र १० २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend