धरानः कोरोना भाइरसबाट उत्पन्न संकटका कारण झण्डै ६१ लाख नेपालीले रोजगारी गुमाएको सरकारी तथ्यांकले देखाएको छ ।
लकडाउनका कारण ६० लाख ८१ हजार भन्दा बढीको रोजगारी गुमेको तथ्यांक श्रम मन्त्रालयको समन्वयमा राष्ट्रिय योजना आयोगले संकलन गरेको छ ।
सो तथ्यांकअनुसार पर्यटन क्षेत्रका अधिकांशले रोजगारी गुमाएका छन् । त्यस्तै, जडिबुटी संकलन, स्थानीय स्तरको आयोजनामा काम गर्नेहरु सबैभन्दा बढी बेरोजगार बनेका छन् ।
वन तथा जडिबुटी क्षेत्रमा झण्डै ५० लाख कार्यरत रहेकामा २९ लाखभन्दा बढीले रोजगारी गुमाउँदै छन् ।
पर्यटन क्षेत्रमा ८ लाख ३० हजार मानिसले काम गर्दै आएकोमा ८ लाखको रोजगारी खोसिएको छ । अहिले ३० हजारजति मात्रै सो क्षेत्रमा कार्यरत छन्। तिनीहरु पनि नियमित तलब नपाउने स्थितिमा छन् । स्थानीय स्तरका आयोजनामा काम गर्ने २६ लाखमध्ये १७ लाख बेरोजगार बनेका छन् ।
त्यस्तै, पुनर्निमाण क्षेत्रमा कार्यरत ६ लाखमध्ये ३ लाख बेरोजगार बनेका हुन् सूचना प्रविधि, आमसञ्चार तथा चलचित्र क्षेत्रमा काम गर्नेमध्ये १ लाख बेरोजगार बनेका छन् भने यातायात र सडकमा काम गर्ने ७४ हजारमध्ये १५ हजारले रोजगारी गुमाएका छन् ।
कृषि तथा पशुपक्षी पालनमा रहेका ४ लाख ९७ हजारमध्ये ९० हजारको रोजगारी खोसिएको छ । तर, आवास निर्माणमा भने लकडाउनको समयमा रोजगारी पाउनेहरुको संख्या थपिएको छ । कोरोनाका कारण क्वारेन्टिन भवनहरु समेत निर्माण भइरहेकोले १३ हजारले थप रोजगार पाएको योजना आयोगको भनाइ छ ।
यो संख्यामा औपचारिक र अनौपचारिक दुवै क्षेत्रका कामदार समावेश गरिएको आयोगले बतायो। यसमा स्थायी, अस्थायी, दैनिक ज्यालादारीसहित ११ क्षेत्रमा कार्यरत श्रमिकबारे तथ्यांक संकलन गरिएको हो ।