Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ मा दैनिक एक हजार जनाको परीक्षण हुने

हाम्रो कोशी आवाज
जेष्ठ ९ २०७७, शुक्रबार
प्रदेश १ मा दैनिक एक हजार जनाको परीक्षण हुने

धरानः प्रदेश १ मा दैनिक १ हजार जनाको पिसिआर परीक्षण गरिने भएको छ । जसमा ४० हजार बढी नागरिक पर्छन् ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा शुक्रबार बसेको ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समिति’ को बैठकले कोभिड–१९ को परीक्षण कार्ययोजना स्वीकृत गरेको हो ।
सोअनुसार दैनिक एक हजारका दरले पिसिआर परीक्षण गर्न लागिएको मुख्यमन्त्री राईले जानकारी दिए । प्रदेश नं १ मा ४० हजार बढी नागरिकको पिसिआर परीक्षण गरिनेछ ।
भारतबाट स्वदेश फर्कने नेपाली नागरिक र प्रदेशभित्र कोभिड–१९ संक्रमित पहिचानको लागि परीक्षणको दायरा बढाउन लागिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
कोभिड–१९ को नियन्त्रण, उपचार व्यवस्थाको लागि अहिले सञ्चालनमा रहेका बेड संख्या पनि बढाइने भएको छ ।
कोभिड–१९ को नियन्त्रण, उपचार व्यवस्थाको लागि अहिले सञ्चालनमा रहेका बेड क्षमताहरुको समेत बृद्धि गरिने भएको छ । यसका लागि कोसिस कोभिड अस्पताल १ सय, झापामा २ सय, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ २ सय, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ३ सय, कृष्णदास आश्रम बराहश्रेत्र २ सय र नेपाली सेना इटहरीमा ५० गरी थप ८ सय ५० बेड थपिने भएको छ । यसैबीच प्रदेशमा भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरुको व्यवस्थापन गर्ने संयुक्त कार्ययोजना समेत स्वीकृत गरिएको छ ।
अब संक्रमितको संख्या बढ्दै गए जटिल लक्षण देखिएकालाई मात्र अस्पतालमा, बाँकी घरमै
संक्रमितको संख्या बढ्दै जाँदा अब सामान्य संक्रमितलाई अस्पतालमा राख्न नसकिने मन्त्रालयका सह–प्रवक्ता समिर कुमार अधिकारीले बताएका छन् । नेपालमा अहिलेसम्म संक्रमित भएका सबैको स्वास्थ्य अवस्था सामान्य भए पनि विभिन्न जिल्लाका विभिन्न संक्रमितहरुलाई अस्पतालको आइसोलेसन वार्डमै भर्ना गरिएको छ ।
उनले भने, ‘संक्रमितको संख्या यसरी नै बढ्दै गएको खण्डमा सामान्य संक्रमितलाई घरमै वा क्वारेन्टिनमा राख्ने छौं । अहिले संक्रमितको संख्या कम भएर सबैलाई अस्पतालमा राख्न सम्भव भएको छ । संख्या बढ्दै जाँदा जटिल खालका संक्रमितलाई मात्र अस्पतालमा भर्ना गर्नु पर्ने हुन्छ ।’
कोरोना भाइरसको संक्रमितको संख्या दैनिक रुपमा बढ्दै जाँदा सरकार यस्तो तयारीमा जुटेको हो । उनका अनुसार संक्रमितको संख्या बढ्यो भने बिरामीको अवस्था हेरेर जटिल प्रकृतिका संक्रमितलाई मात्रै अस्पताल लगिने उनले बताए । पछिल्लो समय नेपालमा संक्रमित भएका सबैलाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिने गरिएको छ भने सम्भावित व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ ।
२५ वटा अस्पताल हब
यस्तै, मन्त्रालयले कोभिड-१९ महामारीको सन्दर्भमा कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका २०७६ जारी गरेको छ जसमा कोरोना भाइरस संक्रमितको उपचारका लागि २५ वटा हब अस्पताल तोकिएको छ भने १ सय २७ वटा अस्पतलमा क्लिनिक सञ्चालन गरिएको छ । योसँगै कोभिडका अस्पताललाई तीन तहमा विभाजन गरिएको छ । पहिलो तहमा १३ वटा, दोस्रो तहमा १२ र तेस्रो तहमा ३ बटा अस्पताल तोकिएका छन् ।
पहिलो तहका १३ वटा अस्पतालमध्ये प्रदेश १ मा अस्थायी कोरोना विशेष अस्पताल (विराटनगर) पहिलो तहका लागि तोकिएको छ । त्यस्तै, दोस्रो तहका १२ वटा अस्पतालमध्ये प्रदेश १ मा कोशी अस्पताल नै रहेको छ ।
यस्तै, तेस्रो तहका ३ वटा अस्पतालमध्ये धरानस्थित बीपी प्रतिष्ठान, त्रि.वि. शिक्षण अस्पताल (काडमाडौं), नेपालगञ्ज मेडिकल कलेज (कोहलपुर) गरी देशभरबाट तीन वाट अस्पताललाई तेस्रो तहका अस्पताल तोकिएको छ ।
‘गम्भीर अवस्थाका विरामीका विरामीलाई अक्सिजन, भेन्टिलेटरको आवश्यक पर्ने भएका कारण उनीहरुलाई तेस्रो तहको अस्पतालमा उपचार गरिन्छ’, डा. अधिकारीले भने ।
यस्तै, हब अस्पतालहरुमध्ये प्रदेश १ मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी अस्पताल र मेची अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि हब अस्पतालका रुपमा तोकिएको छ ।
यस्तै, बीपी प्रतिष्ठानमै आइतबारबाट एकसय बेडको कोभिड १९ उपचार केन्द्र सञ्चालनमा ल्याउने भएको छ । अस्पतालमा भण्टिलेटरको संख्या २० वटा पुरयाउने तयारी भइरहेको उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरीका सल्लाहकार दिलिप भट्टराईले बताउँछन् । हाल प्रदेश १ मा चार हजार एक सय बढीको पिसिआर परीक्षण भइसकेको छ ।

प्रकाशित मिति: जेष्ठ ९ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend