धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बिरामी कुरूवालाई खानाकै समस्या हुँदै आएको छ । धरानमा अहिले होटल पनि खुल्ला छैनन् ।
लकडाउनका कारण बिरामी कुरुवा बढी समस्यामा परेका हुन् । यही कुरालाई मध्यनजर गर्दै धरान–१८ ले राहत वितरण गरेको छ । अस्पतालको भागवत धर्मशालामा रहेका २८ बिरामी र कुरवाहरूलाई वडाले राहत वितरण गरेको हो ।
धरानको १८ नं. वडा कार्यालयले भागवत धर्मशालाका २८ बिरामी तथा कुरुवाहरूलाई राहत वितरण गरेको हो । अस्पतालमा किड्नीको डायलोसिस एवं उपचार गरिरहेको बिरामी तथा बिरामीका कुरुवाहरु लकडाउनका कारण समस्यामा परेका थिए ।
राहतमा १० केजी चामल, १ केजी नुन, १ केजी दाल, १ लिटर तेल र १ केजी चना वितरण गरिएको थियो । सोमबार धरान १८ को वडा कार्यालयमा वडाध्यक्ष नरेन्द्रकुमार (प्रविण) राई, वडा सदस्य जमुना मोक्तान त्रिखत्री, दिनकुमारी राई, टंक गुरुङ, जगदीप सुनुवार र कर्मचारी भक्ति राईलगायतले राहत वितरण गरेका थिए । स्थानीय समाजसेवी बुवा टेकबहादुर गुरुङ, प्रेम कुमारी गुरुङले छोरा विकास गुरुङको जन्मदिनको उपलक्ष्यमा उनका बुहारी संगीता गुरुङसहितले राहत सामग्री वडामार्फत् दिएका थिए ।
कोरोना भाइरसका कारण यतिका दिनसम्म घर आवतजावत गर्न समस्या भएकाले किड्नीको डायलोसिस गर्नुपर्ने बिरामीहरु समस्यामा परेका हुन् । यसभन्दा पनि धर्मशालामा रहेर अस्पतालमा उपचार गरिरहेका बिरामीहरुलाई राहत वितरण गरिएको थियो । वडा कार्यालयको समन्वय र आयोजनामा विभिन्न सहयोगीदाता तथा संस्थाहरुको सहयोगमा कुरुवाहरुका लागि दैनिक बिहान–बेलुका खानाको पनि व्यवस्था गर्दै आएको छ । जेष्ठ नागरिकहरुका लागि घरघरमा हर्लिक्स र बालबालिकाहरुका लागि पाकेट दूधको व्यवस्था गर्ने समेत योजना रहेको वडा सदस्य जमुना मोक्तान त्रिखतीले बताइन् ।
राहत वितरण कार्यमा समाजिक दुरी कायम गर्दै सेनिटाइजर र पञ्जा प्रयोग गरेर पूर्ण सावधानी अपनाइएको थियो । राहत वितरणका कार्यमा दाताका प्रतिनिधि रवि केसी, वडाका स्वस्थ्य स्वयंसेविका दीपा श्रेष्ठ, इन्दु मगर तथा देवीथान संरक्षण तथा व्यवस्थापन समितिका मदन राई र दीपेश वान्तवाको सहभागिता रहेको थियो ।
