धरानः प्रदेश नम्बर १ मा कोरोना सङ्क्रमितलाई वर्गीकरण गरेर उपचार थालिने भएको छ ।
प्रदेशमा कोरोना भाइरसको लक्षण देखिएकालाई कोभिड अस्पताल र रिपोर्ट पोजेटिभ आएकालाई आइसोलेशन केन्द्रमा राखेर उपचार गर्ने तयारी थालिएको हो ।
प्रदेश सरकारका अनुसार बिरामीलाई वर्गीकरण गरेर उपचार गर्ने तयारीसँगै चार सय ५० शैथ्या (बेड) को आइसोलेशन उपचार केन्द्र निर्माण कार्यलाई तीब्र पारेको जनाएको छ । कोरोना संक्रमित वृद्धि भएसँगै उनीहरुको वर्गीकरण गरेर उपचार गर्ने तयारी शुरु गरिएको हो । प्रदेशमा यसअघि कोभिड–१९ उपचार केन्द्रका रूपमा विराटनगर र सुनसरीको धरानमा सञ्चालन गरिसकेको छ । यस्तै, मेची अस्पतालमा पनि कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल तयार शुरु गरिँदैछ ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले पूर्वाञ्चल विश्वविद्यालय मोरङको गोठगाउँ, झापाको दमक, सुनसरीको बराहक्षेत्र र नेपाली सेनाको पूर्वी पृतना इटहरीमा गरी चार सय ५० बेडको आइसोलेशन उपचार केन्द्र तयार गर्ने काम भइरहेको जानकारी दिए ।
प्रदेशमा जेठ र असारभित्रमा ७० हजारको पीसीआर परीक्षण गर्ने गरी सरकारले काम गरिरहेको मन्त्री घिमिरेको जानकारी दिए । उनले ४० हजार प्रदेशवासी र ३० हजार भारतबाट आउनेको परीक्षण गर्ने तयारी शुरु गरिएको र पीसीआर परीक्षणको क्षमता बढाएसँगै किट अभाव भएको बताए ।