Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

खाडी मुलुकमा लकडाउनमा केही लचिलो, नेपालीलाई फाइदा पुग्ने

हाम्रो कोशी आवाज
जेष्ठ १६ २०७७, शुक्रबार
खाडी मुलुकमा लकडाउनमा केही लचिलो, नेपालीलाई फाइदा पुग्ने

धरानः खाडी मुलुकमा लकडाउन लचिलो बनाइने भएको छ । कोरोनाको कहरकै बीचमा चहलपहल सुरु भएको छ । यसले नेपाली श्रमिकलाई फाइदा पुग्ने भएको छ । साउदी, यूएई, कुवेत, ओमान र मलेसियामा विस्तारै आर्थिक गतिविधि सुरु हुन थालेका छन् ।
सुरुवाती दिनमा कर्फ्यु नै लागेको साउदी र कुवेत पनि विस्तारै खुल्न थालेका छन् । यूएईको दुबई राज्यले पनि लकडाउन खुकुलो बनाउँदै लगेको छ भने मलेसियामा त झण्डै एक महिना अघिदेखि नै लकडाउनलाई खुकुलो बनाउँदै आर्थिक गतिविधि सञ्चालन भइरहेको छ ।
कोरोना संक्रमण रोकथामका लागि साउदीले झण्डै दुई महिने लामो कफर्यु जारी गरेको थियो । साउदीमा अहिले पनि दिनमा दुई हजारका दरले कोरोना संक्रमित बढिरहेका छन् । तर पहिलेको तुलनामा संक्रमितको संख्या घट्दो क्रममा रहेको साउदीको भनाइ छ । त्यसैले साउदीले विभिन्न चरणमा विभाजन गरेर दुई महिने लामो कडा कर्फ्युलाई खुकुलो बनाउँदै लगेको छ ।
पहिलो चरणमा मे २८ देखि ३० मेसम्म मक्का बाहेकका क्षेत्र र प्रान्तहरुबीचको आवागमनलाई बिहान ६ बजेदेखि दिउँसो तीन बजेसम्म खुलाइएको छ भने बाँकी समय लकडाउन हुने त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।
साउदीले दोस्रो चरणमा मे ३१ देखि जुन २० सम्म मक्का बाहेकका क्षेत्र र प्रान्तहरु बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म खुल्ला गर्ने भएको छ । यो समयमा क्षेत्र र प्रान्तबीच आउजाउ गर्न पाइन्छ । यो समयमा सरकारी कार्यालयहरुसमेत खुल्नेछन् । तर यस क्षेत्र र प्रान्तबीच चल्ने सार्वजनिक यातायातका साधनहरु भने बन्द नै रहनेछन् । रेष्टुरेन्ट, फुड र बेभरेजहरु खुल्ने भएका छन् तर पार्लर, सैलुन, खेलकुद केन्द्रहरु, जिम र हल लगायत भने दोस्रो चरणमा पनि बन्द रहनेछन् ।
तेस्रो चरणलाई जून २१ पछिको अवधिमा मानिएको छ । यस अवधिमा सरकारले आर्थिक गतिविधिका सबै क्षेत्रहरु खुला गर्ने र लकडाउन भन्दा अगाडिको ‘सामान्य’ अवस्थामा देशलाई लैजाने योजना बनाएको साउदी प्रेसलाई उल्लेख गर्दै त्यहाँ रहेको दूतावासले जनाएको छ ।
यूएईको दुबईमा पनि लकडाउन खुकुलो बनाइएको छ । दुबई सरकारले आर्थिक गतिविधि सुरु गर्ने घोषणा गरेसँगै दुबईमा जारी कफर्युलाई राति ११ बजेदेखि बिहान ६ बजेसम्म मात्रै गर्ने भएको छ । यसअघि साँझ ८ बजेदेखि बिहान ६ बजेसम्म कफर्यु लगाइएको थियो । यस्तै दुबई बिमानस्थलबाट त्यहाँको आवासीय भिसा हुनेहरु गन्तव्यमा जान तथा ट्रान्जिट भिसा हुनेहरु रोकिन सक्नेछन् । त्यस्तै सरकारी सेवाका सबै कार्यालयहरु खुला भएका छन् ।
मुखमा मास्क र हातमा ग्लोभ्स अनिवार्य लगाउनुपर्ने नियम बनाइएको छ । यो व्यवस्था तत्कालका लागि दुबई राज्यमा मात्र लागू भएको हो । यूएईका अन्य राज्यमा लागू हुनेछैन ।
कोरोना संक्रमण रोकथामका लागि कुवेतले लामो समयदेखि जारी गरेको कडा कर्फ्यु केही खुकुलो बनाएको छ । कुवेत सरकारले अब बिस्तारै समान्य अवस्थामा फर्कनका लागि कोरोना संक्रमणबाट बच्ने उपायहरु अपनाउँदै अघि बढ्ने बताएको छ । कुवेतले पाँच चरणमा विभाजन गर्दै सामान्य अवस्थामा फर्कने जनाएको छ । सबै चरणहरु तीन हप्ताका रहेका छन् । योजना अनुसारनै भएमा सेम्टेम्बर १३ देखि कुवेत फेरि पुरानै शैलीमा फर्कनसक्ने बताएको छ ।
ओमानको मस्कट गभरनेट यस क्षेत्रको लकडाउन मे २९ शुक्रबारदेखि हटाउने भएको छ । अब मस्कटका सरकारी निकायहरुमा कम्तिमा ५० प्रतिशत कर्मचारी उपस्थित हुनुपर्ने छ ।
प्रत्येक इकाईका प्रमुखले महामारीको प्रसारलाई रोक्न आवश्यक सावधानीका उपायहरु अपनाउँदै सरकारी निकायको नियमित गतिबिधि र कार्य सम्पादन गर्न सक्ने निर्णय भएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।
मलेसियाले मे ४ देखि नै क्षेत्रगत हिसाबमा आर्थिक गतिविधि सुरु गरेको छ । गएको मार्चदेखि नै लकडाउनमा रहेको मलेसियमा अहिले पनि लकडाउन नै छ । जुन ९ सम्म अहिले लकडाउनको अवधि तोकिएको छ । तर क्षेत्रगत हिसाबले मलेसियाले लकडाउनलाई झण्डै एक महिनाअघिदेखि नै खुकुलो बनाउँदै लगेको छ । आर्थिक गतिविधि निश्चित मापदण्ड पालना गर्दै सुरु भएका छन् । होटलहरु लगायत विभिन्न क्षेत्रमा नेपाली श्रमिकको काम फेरि सुरु भएको छ ।

प्रकाशित मिति: जेष्ठ १६ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend