Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

झन् झन् संक्रमित बढेपछि जेठ अन्तिमसम्म लकडाउन

हाम्रो कोशी आवाज
जेष्ठ १७ २०७७, शनिबार
झन् झन् संक्रमित बढेपछि जेठ अन्तिमसम्म लकडाउन

धरानः कोरोना महामारी बढ्दै गएपछि सरकारले लकडाउनको समय थप गरेको छ ।
यो भन्दा पहिले जेठ २० गतेसम्मलाई तोकिएको लकडाउन अब थप भएर जेठ महिनाभरीका लागि भएको छ ।
सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको हो । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । नेपालमा अहिलेसम्म ७ जनाको ज्यान गइसकेको छ । संक्रमितहरुको संख्या पनि बढेर १ हजार ४२५ पुगेको छ । डिस्चार्ज हुनेहरुको संख्या २०० भन्दा धेरै रहेको छ ।
शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप गरी जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ सूचना तथा सञ्चार प्रविधि मन्त्री युवराज खतिवडाले बताए । उनले भने, “लकडाउनलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले छलफल गरेर मन्त्रिपरिषद्‍मा सिफारिस गर्ने छ। लकडाउन सबै क्षेत्रमा एउटै हुनसक्छ भन्ने होइन। अवस्था अनुसार केही फरक हुनसक्छ।”
कोरोना संक्रमित क्षेत्रमा सेना परिचालनको निर्णय, हवाई उडान असार १६ सम्म बन्द
यसैबीच सरकारले सरकारले कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ ।
शनिबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले सेनालाई थप जिम्मेवारी दिने निर्णय भएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । दिनदिनै कोरोनाको संक्रमण बढ्दै गएको र विदेशबाट समेत नागरिक ल्याउनु पर्ने अवस्था भएकाले व्यवस्थापनको काममा सेनालाई अझ सक्रिय बनाउने निष्कर्षमा सरकार पुगेको हो ।
सरकारले विदेशमा रहेका नागरिकलाई प्राथामिकता तोकेर स्वदेश फर्काउने निर्णय गरेसँगै क्वारेन्टिनको निर्माण गर्ने, आएकालाई तोकिएको क्वारेन्टिनसम्म पुर्रुयाउने, औषधिलगायत अन्य अत्यावश्यकीय सामाग्रीको व्यवस्थापन गर्ने जिम्मा सेनालाई दिएको हो ।
यस्तै सरकारले लक डाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने र हवाइ उडान असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको मन्त्री त्रिपाठीले जानकारी दिए ।
यसअघि जेठ २० गतेसम्म तोकिएको लकडाउनलाई मन्त्रिपरिषद् बैठकले जेठ ३२ गतेसम्म लम्ब्याएको हो । यसैगरी आजको मन्त्रिपरिषद् बैठकले विदेशबाट फर्काइने नागरिक व्यवस्थापनमा सेना परिचालन गर्ने पनि निर्णय पनि गरेको छ ।
यस्तै विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको छ । सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई उनीहरु रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको छ । नेपाल ल्याएपछि काठमाडौंका होटलमा १४ दिन क्वारेन्टाइनमा राखेर मात्र जिल्ला प्रवेश गराउने योजना बनाएको छ ।

प्रकाशित मिति: जेष्ठ १७ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend