Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बन्दाबन्दीः घरधनी र कोठावाललाई भाडाकै चिन्ता तरपनि छन् दिएर नसकिनेहरू !

हाम्रो कोशी आवाज
जेष्ठ १९ २०७७, सोमबार
धरानमा बन्दाबन्दीः घरधनी र कोठावाललाई भाडाकै चिन्ता तरपनि छन् दिएर नसकिनेहरू !

धरानः धरानमा न घरधनी, न भाडावाल सबैलाई चिन्ताले सताउन थालेको छ । विश्व महामारी कोरोना कहरका कारण अहिले दुवैतर्फी चिन्तामा छन हुन् पनि हो अहिले लकडाउनले चौतर्फी समस्या बढ्दो छ ।
घरभाडामा लिएर व्यापार व्यवसाय गर्ने र डेरा लिएर बसेकाहरू यतिबेला निकै तनावमा छन् । त्यसको साथमा घरधनी पनि घरभाडा उठ्ने हो कि होइन अन्यौलमै छन् । बन्दाबन्दीले व्यवसायमा असर परेकाले यस अवधिमा घरभाडा छुट तथा मिनाहा गर्न घरधनीहरूलाई सरकारले अनुरोध गरेपनि केही मनकारी घरधनीले मात्र मिनाहा गरिदिएका छन् ।
धरानमै जसले घरभाडा छुट दिए
धरान–१८ बुद्धचोक निवासी किरात राई यायोक्खाका भुपु प्राकास अध्यक्ष, समाजसेवी बिर्ख चाम्लिङ राईले एक महिनाको घरभाडा छुट दिएका छन् । उनले एक महिनाको १ लाख ५ हजार रूपैयाँ छुट दिएर व्यवसायीलाई राहत प्रदान गरेको स्थानीय शिव बान्तवाले जानकारी दिइन् । उनको घरमा मःम हाउस सञ्चालनमा थियो । मःम पसललाई मात्रै ७५ हजार कोठाभाडा छोडेको राईले बताइन् ।
यस्तै, धरान–१८ बुद्धचोक निवासी किरात राई प्रारम्भिक कार्य समिति सदस्य रामकृष्ण राईले पनि एक महिनाको भाडा छुट दिएका छन् । वैशाख महिनाको ५१ हजार रूपैयाँ छुट दिएको उनले बताइन् । बुद्धचोकमा उनको घर किराना पसल र मेडिकल र पुस्तक पसल सञ्चालनमा थियो ।
यस्तै, धरान–११ निवासी शिव बान्तवाले मंगलबारे चोकमा रहेको आफ्ना भाडावाललाई दुई महिनाको २० प्रतिशतका दरले छुट दिएको बताइन् । उनले बैंकको ऋण तिर्नुपर्ने कारणले २० प्रतिशत छुट जानकारी दिइन् । ‘५ वटा सटर छन्, लकडाउनको समयमा २० प्रतिशत छुट दिने निर्णय गरिसकेको छु’, उनले भनिन् । उनले घरधनीको पनि आफ्नै समस्या रहेको सुनाइन् ।
‘हामीलाई पनि समस्या छ नि, घर नहुँदा र बाहिर बस्दा हुने समस्याको अनुभव छ । तर बैंकको ऋण तिर्नुपर्ने हुन्छ, त्यसैले सकेको भए पुरै छुट दिन्थें, हाम्रो पनि बाध्यता भएर थोरै छुट दिएका हुँ ।’ उनले भनिन् ।
बैंकले ब्याज छुट गरे भाडा मिनाहा गर्न सकिने उनको तर्क छ । ‘धरानमा बैंक ले वर्गीकरण गरेर ब्याज छुट गरे सबैले भाडा मिनाहा गर्न सक्छन् भन्ने लाग्छ मलाई’, उनले थपिन्, ‘सरकारले छुट दियोस् न अनि छुट दिन्छौं, घरधनीकै पनि आम्दानी नहुनेले भाडा छुट दिएर बैंकको ऋण के ले तिर्नु होइन ?’
भन्न थाले जनप्रतिनिधि हुन् त यस्तो
अहिले धरानमै पनि घरभाडा छुट दिने बढेका छन । धरान–६ पानबारीमा एक जनप्रतिनिधिले घरभाडा छुट दिएपछि स्थानीयबासी र घरधनीले जनप्रतिनिधि हुनु त यस्तो भन्न थालेका छन् ।
स्थानीय वडा सदस्य गोमा खनाल (गौतम) ले आफ्नो घरमा भाडामा बस्नेलाई चैत र वैशाख दुई महिनाको भाडा छुट दिएकी छिन् । बन्दाबन्दी शुरु भएपछि उनले चैतको भाडा नलिने निर्णय गरेका थिए । तर, बन्दाबन्दी लम्बिदै ५ जेठ पुगेपछि वैशाखको भाडा पनि नलिने निर्णय गरेकी हुन् । अहिले उनको घरमा ८ जनाको परिवार भाडामा बस्छ । ‘८ वटा कोठामा बस्दै आएका सबैलाई दुई महिनाको भाडा छुट दिएको छु’, उनले भनिन् । उनले ३५ हजार रूपैयाँ छुट दिएको बताइन् ।
भाडावाल दिपीका राईले गोमा र भीम खनालको परिवारलाई धन्यवाद भनिन् । ‘बन्दाबन्दी शुरु भएपछि घरबेटी आन्टीले म्यासेज पठाएर चैत, वैशाख महिनाको घरभाडा छुट दिएको जानकारी दिनुभयो, वैशाखमा पनि छुट भएको म्यासेज आयो । पैसाभन्दा पनि महामारीमा उहाँहरूले देखाउनुभएको मानवीयताबाट प्रभावित भएका छौं ।’ उनले थपिन ‘आफैले बुझेर दुई महिनाको मात्रै भएपनि छुट दिनु म जस्तो साना व्यवसायीका लागि ठूलो राहत हो ।’
गोमा भन्छिन्, ‘म पनि घरभाडामा बसेर आएको हुँ । घरभन्दा टाढा भाडामा बस्नुको दुःख थाहा छ । त्यसैले छुट गरेको हुँ ।’ घरभाडा उठाएरै खानुपर्ने अवस्था नरहेकाले दुई महिनाको भाडा छुट दिने निर्णय गरेको उनी बताउँछिन् । ‘मलाई घरभाडाबाटै खानुपर्ने अवस्था नभएकाले छुट दिएँ । मेरो घरमा बस्नेहरूको कसैको बच्चा सानो, कोही त्यही व्यवसायबाट जिउनुपर्ने त कोही गरिखाने छन् । यस्तो बेला केही नसके पनि भाडा नलिएर सहयोग गरौं भनेर हो ।’ उनले भनिन् ।
घरबेटीहरूको आफ्नै समस्या
केही घरबेटीले भने बाध्यताले घरभाडा लिनुपरिरहेको गुनासो गरेका छन् । सरकारले दिने घरबहाल कर छुट मात्रै पर्याप्त नहुने उनीहरुको भनाइ छ । भाडा छुट दिनका लागि घर किन्दा वा बनाउँदा बैंकबाट लिएको ऋणको मासिक व्याज छुट गर्नुपर्ने उनीहरुको माग छ ।

धरान–१२ निवासी सविना कार्की भन्छिन्, ‘मेरो घरबेटीले कहिले पनि भाडा माग्नुहुँदैन । आफैले जानेर दिने हो । उहाँहरु दुई जना हुनुहुन्छ । अन्य आयस्रोत छैन । कसरी छुट माग्नु ?’ घरधनीले कोरोना भाइरसको प्रभाव भाडामा बस्नेलाई मात्र नभएर आफूहरूलाई पनि परेको भन्दै घरभाडा मिनाहा गर्न नसकिने बताएका छन् । घरबहाल छुटबारे सहजीकरण नहुनु र घरमा बस्नेले पनि भाडा छुटका बारेमा जानकारी नपाउनुले सरकारको घरभाडा छुटका लागि गरेको निर्णय कार्यान्वयन हुन सकेको छैन । कतिपयलाई सरकारले अहिलेको परिस्थितिमा घरबहाल छुटमा गरेको अनुरोधबारे पनि जानकारी नभएको पाइएको छ ।

प्रकाशित मिति: जेष्ठ १९ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend