Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका व्यवसायीले यसरी पसल खोलौं भन्दै दिए ‘मोडालिटी’

हाम्रो कोशी आवाज
जेष्ठ १९ २०७७, सोमबार
धरानका व्यवसायीले यसरी पसल खोलौं भन्दै दिए ‘मोडालिटी’

धरानः धरान उपमेयरपालिकाका नगरप्रमुख तिलक राईले आवश्यकता अनुसार पसल खोल्नुपर्ने बताएका छन् । सुनसरी उद्योग वाणिज्य संघका विभिन्न वस्तुगत संघका प्रतिनिधिसँगको छलफलका क्रममा मेयर राईले आवश्यकताअनुसार पसल खोल्नुपर्ने बताएका हुन् ।
मेयर राईले कोरोनासँग सतर्क रही सुरक्षाका मापदण्ड अपनाएर आवश्यकताअनुसार व्यवसाय सञ्चालन गर्नुपर्ने र त्यसका लागि वाणिज्य संघको सहभागितामा एउटा टिम तयार गरी मोडेल तयार गर्ने बताएका छन् । मेयर राईले कर निर्धारण र रात्रीकालीन बजार सञ्चालनका लागि समेत अब छलफल गरिने बताए ।
कार्यक्रममा धरान उपमहानगरपालिकाका उपप्रमुख मन्जु भण्डारीले व्यवसायी र स्थानीय सरकारको नङमासुको सम्बन्ध रहेको बताएकी छिन् । उपप्रमुख भण्डारीले व्यवसायीबिना सरकार र सरकारबिना व्यवसायी चल्न नसक्ने अनि पसल खोल्ने क्रममा कसैलाई काखा पाखा नगरिएको र सामाजिक दूरी र सुरक्षा संयन्त्रलाई मध्यनजर गरिनुपर्ने बताएकी छिन् ।
संघका अध्यक्ष गिरिधारी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठले सुनसरी उद्योग वाणिज्य संघले तयार पारेको बजार खोल्ने मोडालिटी प्रस्तुत गरेका थिए । सो प्रस्तावपत्रमा बजारमा १४ देखि ५९ वर्षसम्मका स्वस्थ्य व्यक्तिले मात्र प्रवेश पाउनुपर्ने र पसललाई दुई तहमा वर्गीकरण गरिनुपर्ने उल्लेख गरिएको छ । श्रेष्ठले प्रस्तुत गरेको सो मोडालिटीमा बजारलाई तीन तहमा वर्गीकरण गर्नुपर्ने, बिग्रने सामान बिक्री गरिने पसललाई बिहान ६ देखि ९ बजेसम्म र नबिग्रने वस्तुको पसललाई दिउँसो ११ देखि ४ बजेसम्म खोलिनुपर्ने, मोटरसाइकल जोर बिजोर नम्बरमा चलाउनुपर्ने र धरान बजार छिर्ने नाकाहरूमा सुरक्षा चेकपोष्ट स्थापना गरिनुपर्नेलगायतका बुँदाहरू उल्लेख गरिएको थियो ।
सौन्दर्यकला व्यवसायी संघका सचिव नेविका शाहीले अब सौन्यर्दकला व्यवसायीलाई पनि पीपीई उपलब्ध गराउनुपर्ने बताएकी छिन् । सचिव शाहीले ब्युटीसियनको पेशा स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने भएकोले स्थानीय सरकारले व्युटसियनलाई पीपीई उपलब्ध गराउनुपर्ने तथा बाहिरबाट आई व्यवसाय गरेका सौन्दर्यकला व्यवसायीलाई राहतको समेत आवश्यकता भइसकेको बताएकी छिन् ।
संघका कार्यसमिति सदस्य विष्णु बरालले व्यवसायीहरुले सञ्चालन गरेको पसलको घरभाडा छुट सम्बन्धमा घरवालाहरुको प्रतिनिधिलाई समेत सहभागी गराई धरान उपमहानगरपालिका, सुनसरी उद्योग वाणिज्य संघसमेत सम्मिलित समिति बनाई छलफल गरिनुपर्ने बताएका छन् ।
सदस्य बरालले धरान उपमहानगरपालिकाले धरानका कुनै ४ वटा वडालाई नमूना वडाको रुपमा लिई बजार खोल्नु पर्ने र राष्ट्रमै नमूना शहरको रुपमा बजार खोल्ने नगर बनाउन सुरुवात गर्नुेपर्ने तथा घरबहाल छुटको सम्बन्धमा घरवालाको प्रतिनिधि सम्मिलित समिति बनाई छलफल गरिनुपर्ने बताएका छन् ।
त्यसैगरी सुनसरी सुनचाँदी व्यवसायी संघका अध्यक्ष किसन मास्केले पहेलो धातु व्यवसाय अब एक वर्षसम्म नचल्ने भएकोले व्यवसायीलाई सरसफाइ दोहोरो कर र व्यवसाय कर छुट गरिनुपर्ने बताए ।
संघका कार्यसमिति सदस्य नविनराज भण्डारीले धरान नगरभरि उपमहानगरपालिकाको स्वामित्वमा रहेका खाली जग्गामा टहरा निर्माण गरी उपमहानगरपालिकाले आम्दानीको स्रोत वृद्धि गर्नुपर्ने बताए ।
संघका महासचिव राजेश अग्रवालले सञ्चालन गरेको सो कार्यक्रममा संयुक्त व्यापार एकता संघका अध्यक्ष रामकुमार दास, धरान मदिरा व्यवसायी संघका अध्यक्ष नवीन तामाङ, संयुक्त ग्रील उद्योग व्यवसायी संघका अध्यक्ष राजकुमार राई, होटल व्यवसायी समितिका सचिव वासुदेव बराल, सुनसरी डिलर तथा थोक व्यवसायी संघका अध्यक्ष माणिक सुराना, होटल एशोसिएशन अफ धरानका अध्यक्ष सरोज भट्टराई, वस्तुगत समन्वय समितिका संयोजक रामस्वरुप शर्मा लगायतले बजार खोलिनुपर्ने र कर निर्धारण सम्बन्धमा आ–आफ्ना धारणा पार्नुपर्ने बताएका थिए ।

 

प्रकाशित मिति: जेष्ठ १९ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend