धरानः आन्तरिक राजश्व विभागले कर चुक्ता गर्न उर्दी जारी गरेपछि धरानका उद्योगी–व्यवसायी पनि झसङ्ग बनेका छन् ।
उनीहरूले अर्थमन्त्रीलाई गुहार माग्दै कर विवरण र कर बुझाउने म्याद थप गरिदिन आग्रह गर्दै पत्र पठाएका छन् । विभागले जेठ २५ गतेसम्ममा कर तिर्न भनेपछि सुनसरी उद्योग वाणिज्य संघ धरानले यस्तो आग्रह पत्र पठाएको हो ।
संघका अध्यक्ष गिरिधारी सापकोटाद्वारा हस्ताक्षरित पत्रमा कोभिड–१९ को महामारीको बेलामा हालको अवस्थामा कुनै पनि हालतमा कर तिर्न नसक्ने जनाइएको छ । पत्रमा भनिएको छ, ‘विक्री वितरण तथा आपूर्ति प्रणालीको अवस्था नाजुक छ, बन्दाबन्दीको अवस्थामा आदेशको पालना गर्दै यहाँका व्यवसायी घरमै थुनिएर बस्नुपरिरहेको छ, भएका मालसामान पनि म्याद गुज्रिएर जाने, सडेर जाने, मुसा तथा अन्य कारणले नष्ट हुने अवस्था छ, लकडाउनको बेला घरमा बसेर कसरी कर तिर्नु, त्यसैले असार मसान्तसम्म भएपनि म्याद थप गरिपाऊँ सरकार ?’
सरकारको अमिल्दो र व्यापारीलाई समस्यामा पार्ने निर्णय तुरुन्तै फिर्ता गर्नुपर्ने उनीहरूको माग छ । अध्यक्ष सापकोटाले भने, ‘हामी अहिले बाहिर निस्कने नै अवस्था छैन, कसरी कर तिर्ने ?’ सरकारले व्यवसायीहरूको समस्या नबुझ्ने र एकोहोरो पेल्ने नीति अवलम्वन गरेको देखिन्छ ।’ यो कदापि स्वीकार हुन नसक्ने र फिर्ता गर्नै पर्ने कुरामा उनले जोड दिए ।
यस्तो छ पत्र
२०७७/०२/२०
माननीय अर्थमन्त्रीज्यू,
अर्थ मन्त्रालय
सिंहदरबार, काठमाडौं ।
विषय : कर विवरण एवं कर रकम बुझाउने म्याद थप गरि दिने सम्बन्धमा ।
माननीय मन्त्रीज्यू
कोभिड–१९ को महामारीले सिङ्गै विश्व आक्रान्त छ । यसको कारणले सरकारले २०७६ चैत्र ११ देखि पटकपटक समय बढाउ“दै लकडाउन गर्दैआईरहेको छ । यस्तो बन्दाबन्दीको ७१ औं दिन आइपुग्दा कोरोनाको समस्या कम हुनुको सट्टा अझै बढ्दो अवस्थामा छ । अति आवश्यक वस्तुहरु देखी बाहेक देशको अर्थतन्त्र, उद्योग, व्यापार, व्यवसाय ठप्प रहेको माननीय मन्त्रीज्यूलाई अवगतै छ ।
यस विषय परिस्थितीमा उत्पादन, बिक्रीवितरण लगायतका आपूर्ति प्रणाली अत्यन्त नाजुक अवस्थामा छन । उद्योगी व्यवसायीहरु सरकारको आदेश पालना गरी बन्दाबन्दीको अवस्थामा घरमै थुनिएर बसेका छन् । व्यवसायमा रहेको मालसामान म्याद गुज्रिएर जाने, सडेर जाने, मुसा तथा अन्य कारणले नष्ट हुने अवस्था आईरहेको छ । यस अवस्थामा यस आर्थिक वर्षको बजेटले अर्थतन्त्रले भोगि रहेको कठीन चुनौतिलाई स्विकार गरी सकेको अवस्था छ । सरकारद्वारा २०७७ जेष्ठ ३२ गतेसम्मको समयलाई लकडाउन तोकेको छ र यस प्रतिकुल परिस्थितिमा आन्तरिक राजश्व विभागबाट आयकर, मूल्य अभिवृद्घि कर, अन्तःशुल्क विवरण र कर रकम बुझाउने म्याद यही २०७७ साल जेष्ठ २५ गते देखी जेष्ठ ३२ गतेसम्म निर्धारण गरी
सूचना जारी गरेको छ । यसबाट हामी उद्योगी व्यवसायीहरु थप आक्रान्त र हतोत्साही भएका छौं । लकडाउनको समयमा घरबाहिर निस्कने अनुकुल अवस्था पनी नरहेको हुदा“ कसरी कर रकम र विवरण बुझाउने ? तसर्थ माननीय मन्त्रीज्यू समक्ष आयकर , मूल्य अभिवृद्घि कर, अन्तःशुल्क विवरण र कर रकम बुझाउने म्याद यही २०७७ असार मसान्तसम्म थप गर्ने वातावरण मिलाई उद्योगी÷व्यवसायीहरुको मनोबल उच्च राख्न र उपयूक्त औद्योगिक एवं व्यवसायीक कायम राख्नका लागि हार्दिक अनुरोध गर्दछौं ।
अनुरोधकर्ता
……………………
गिरिधारी सापकोटा
अध्यक्ष
सुनसरी उद्योग वाणिज्य संघ
बोधार्थ ः
श्रीमान् सचिवज्यू (राजश्व), अर्थमन्त्रालय
श्री नेपाल उद्योग वाणिज्य महासंघ –आवश्यक पहलका लागि
श्री नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ –आवश्यक पहलका लागि
श्री आन्तरिक राजश्व विभाग
श्री आन्तरिक राजश्व कार्यालय धरान ।
श्री जिल्ला÷नगर उद्योग वाणिज्य संघ ।