दिलकुमार लिम्बू
ताप्लेजुङः कोराना नियन्त्रण गर्नको लागि ताप्लेजुङका स्थानीय तहहरुले एक करोड ६० लाख ८ हजार ७६ रुपैया खर्च गरेका छन् ।
एक नगरपालिकासहित आठवटा स्थानीय तहले गत बैशाख २४ गतेसम्मको खर्च विवरण सार्वजनिक गरेका छन् । जिल्ला समन्वय समितिका शाखा अधिकृत गणेश अधिकारीका अनुसार कोभिड–१९ को संक्रमणपछि यसको नियन्त्रण तथा रोकथामका लागि बैशाख २४ सम्ममा फुङ्लीङ नगरपालिकाले १८ लाख छ हजार ७०० रुपैयाँ खर्च गरेको छ । सिदिङवा गाउँपालिकाले गत आइतबार सार्वजानिक खर्च विवरणमा ८४ लाख रुपैयाँ भएको विवरणमा उल्लेख गरिएको छ ।
पाथीभरा याङ्वरक गाउँपालिकाले १९ लाख ४९ हजार ३८१, आठराई त्रिबेणी गाउँपालिकाले ११ लाख ६८ हजार ८२७, मेरिङ्देन गाउँपालिकाले ७ लाख ९९ हजार ६८८ रुपियाँ खर्च गरेका छन् । मैवाखोला गाउँपालिकाले छ लाख ५५ हजार रुपियाँ, मिक्वाखोला गाउँपालिकाले पाँच लाख १८ हजार २९५ रुपियाँ, फक्ताङ्लुङ गाउँपालिकाले तीन लाख ६४ हजार र सिरिजंघा गाउँपालिकाले दुई लाख ८५ हजार ५० रुपियाँ खर्च गरेको विवरण जिल्ला समन्वय समितिलाई प्राप्त भएको शाखा अधिकृत अधिकारीले जानकारी दिए ।