ताप्लेजुङः विभिन्न रोजगारीको तथा अवसर खोजीको सिलसिलामा भारत गएका ५१ जना गृह जिल्ला ताप्लेजुङको सदुरमुकाम शुक्रबार प्रवेश गरेका छन् ।
उनीहरू पाँचथर र ताप्लेजुङको सिमाना काबेलीस्थित हेल्थ डेक्समा समेत सामान्य स्वास्थ्य परीक्षण गराएर ताप्लेजुङ प्रवेश गरेका हुन् । सबैजना आ–आफ्नो गाउँतर्फ गएका छन् । उनीहरूलाई गाउँपालिकाले व्यवस्था गरेको क्वारेन्टिनमा वा नभए घरैमा सुरक्षित बस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।
विभिन्न नाका हुँदै स्वदेश फर्किएका उनीहरुलाई सुनसरीको क्वारेन्टिनमा राखिएको थियो । पिसिआर प्रविधिमार्फत् कोभिड १९ को परीक्षण रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरु आफ्नो गृह जिल्ला प्रवेश गरेका हुन् । फक्ताङलुङ गाउँपालिकाका १८ जना, फुङलिङ नगरपालिकाका ८ जना मिक्वाखोला गाउँपालिकाका १२ जना, सिरिजंघा गाउँपालिकाका १० जना, आठराई त्रिवेणीका २ जना र पाथीभरा याङवरकका १ जना छन् । यस अघि भारतबाटै फर्किएका मेरिङदेन गाउँपालिकाका ११ जना क्वारेन्टिनमा रहेको बताइएको छ ।