धरानः धरानमा बल्ल पसल खोल्ने मोडालिटी तयार भएको छ । लकडाउनको उल्लंघन गर्दै व्यवसायीले नै आफूखुशी पसल सञ्चालन गर्न थालेपछि बल्ला धरानमा पसल खोल्ने मोडालिटी र समय छुट्टिएको हो । उनीहरूले बिहीबारदेखि नै फाट्टफुट्टरूपमा पसल खोल्न थालेका थिए ।
धरानमा पसल भोलिदेखि लागू हुने गरी बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म खोलिने भएको हो । धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी, धरान उपमहानगरपालिकाबाट लकडाउन व्यवस्थापन सम्बन्धमा गठित प्रतिवेदन तयार समितिका संयोजक मनोजकुमार मेन्याङ्वो, समितिका सदस्य प्रा.डा. राजेन्द्र शर्मा, इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेत, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटा, निवर्तमान अध्यक्ष राजेन्द्र शाह तथा कार्यसमितिका सदस्यहरूसँग भएको छलफलबाट सो निर्णय भएको हो ।
धरान उपमहानगरपालिकाबाट लकडाउन व्यवस्थापन सम्बन्धमा पूर्व मेयर मेन्याङ्वोको संयोजकत्वमा प्रतिवेदन तयार गर्न एक समिति तयार गरिएको थियो । सो समितिले तयार पारेको प्रतिवेदनउपर छलफल भई शनिबार सो निर्णय भएको हो ।
छलफलबाट चाँडो बिग्रने प्रकृतिका दूध–दही, माछा–मासु, तरकारी, खाद्यान्नका पसलहरू बिहान ६ देखि १० बजेसम्म खोलिने तथा अन्य चाँडो नबिग्रने प्रकृतिका व्यवसायिक कारोबारहरु बिहान ९ देखि २ बजेसम्म खोलिने निर्णय भएको छ । साथै धरान उपमहानगरपालिकाका कार्यालय, वडा समिति कार्यालय लगायत बैंक तथा वित्तिय संस्थाहरू विदाका दिन बाहेक दैनिक खोलिने निर्णय भएको छ ।
सो प्रतिवेदन अनुसार व्युटीपार्लर तथा सैलुन, जिमहल, सिनेमा हल, होटल तथा लज, रेष्टुरेन्ट एण्ड बार, दोहोरी डान्स बार तथा ठेलामा राखी बिक्री गरिने चटपटे, पानीपुरी तथा फाष्टफुडका सामाग्रीहरू अर्काे निर्णय नहुन्जेलसम्मका लागि नखोलिने निर्णय भएको कार्यसमितिका सदस्य विष्णु बरालले बताए ।
पसलहरु खोल्ने समयका सम्बन्धमा र पसल खोल्दा अपनाउनुपर्ने आवश्यक सुरक्षाका मापदण्डहरुका बारेमा संघले व्यवसायीहरुलाई जानकारी गराउने संघका महासचिव राजेश अग्रवालले बताए ।
