खोटाङः खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा खुकुरी प्रहारबाट एकजनाको मृत्यु भएको छ ।
खुकुरी प्रहारबाट डिल्लीराज राईको मृत्यु भएको हो । घटनामा एकजना घाइते समेत भएका छन् । आइतबार बिहान पौने ९ बजेको समयमा स्थानीय ३६ वर्षीय शुभराज राईले सोही स्थान बस्ने ६५ वर्षीय डिल्लीराज राई र निजकै श्रीमती ६२ वर्षीया सममाया राईलाई धारिलो हतियार खुकुरीले प्रहार गरेका थिए ।
घाइते बनाएको भन्ने खबर प्राप्त भएसँगै प्रहरी चौकी खार्ताम्छाबाट खटिएको प्रहरी टोलीले दुवैजनालाई घाइते अवस्थामा फेला पारेको थियो । घाइते दुवै जनालाई उपचारको लागि हेलिकोप्टरद्वारा काठमाण्डौ पठाउने तयारी हुँदै गर्दा डिल्लीरार्जको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
घाइते सममायालाई कैलाश एयरको हेलिकोप्टरद्वारा काठमाण्डौ पठाइएको छ भने खुकुरी प्रहार गर्ने शुभराजलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर सूचना समन्वय अधिकृत प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।