धरानः कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विकसित देखिँदै आएका देशलाई बचाउन हम्मे परिरहेको बेला नेपाली संक्रमित भने तङ्ग्रिदै गएका छन् ।
मङ्गलबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २८ जना सङ्क्रमित निको भएका हुन् । उनीहरू सबै झापाका हुन् । १८ देखि ५६ वर्ष उमेर समूहका उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् ।
उनीहरू सघन उपचार कक्ष (आईसीयू) मा नबसी आइसोलेसन वार्डबाटै डिस्चार्ज हुन सफल भएका छन् । दुईपटक पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । यसअघिका डिस्चार्ज भएका सबै वार्डबाटै डिस्चार्ज हुन सफल भएको उनले बताए ।
कोरोना भाइरस संक्रमणबाट सुविधासम्पन्न मुलुकमा ४ लाख ८ हजार बढीको ज्यान गइसकेको नै छ तर नेपालमा रहेका व्यक्ति भने निको भएर घर फर्केका छन् । साताअघि बीपी प्रतिष्ठानबाट गत जेठ २० गते धरानकी महिलासहित १८ जना डिस्चार्ज भएका थिए ।
संक्रमितहरूमा गम्भीर खालको लक्षण नदेखिएको प्रवक्ता सापकोटा बताउँछन् । ‘सबैको सामान्य अवस्थामा डिस्चार्ज भयो, केही लक्षण देखिएन’, प्रवक्ता सापकोटाले भने, ‘रोग प्रतिरोधात्मक क्षमता नै ठूलो कुरा हो । मनोबल उच्च राखेर नै कोरोना भाइरससँग लडन सकिन्छ ।’ उनले भने ।