कात्रोसमेत किन्ने पैसा नभएको भनेपछि मन छोयोः सहयोगी
धरानः
पूर्वको माया पश्चिमलाई
पश्चिमको माया पूर्वलाई
पहाडको माया मधेशलाई
मधेशको माया पहाडलाई
बराबर बाँडेर हो हो
बराबर बाँडेर हाँसेको हिमाल
यही हो हो हो सुन्दर नेपाल
गीतको भावजस्तै धरानले पनि पूर्वबाट माया देखाएका छन् । भनौं । धरानेको सहयोग गर्ने शैली र मन पनि फरक नै छ । केही हप्ताअघि पश्चिम रुकुमको चौरजहारी ८ सोती गाउँमा भएको घटनामा मृत्यु भएका नवराज विकसहितका परिवारलाई धरानले सहयोग गरेका छन् ।
धरान–११ निवासी शिव बान्तवा राई र धरान–१८ का रामकृष्ण राईको पहलमा १९ जना व्यक्तिबाट सहयोग गरिएको जम्मा एक लाख ३१ हजार सात सय रूपैयाँ रकम पठाइएको हो । यतिका रकमका लागि धरान–१८ हाल युके निवासी जयकुमार राई र जबिना राईले १५ हजार, धरान–११ निवासी शिव वान्तवाले १० हजार एक सय, धरान–१७ निवासी हाल हङकङ निवासी टंक राईले १० हजार, काठमाडौं निवासी सत्यकला गुरुङ राईले १० हजार सहयोग गरेका छन् ।
यस्तै, कोरियामा कार्यरत् मन्दिरा बाहिङ राईले १० हजार, जापान निवासी चन्डिराज राईले १० हजार, मोरङ उर्लाबारी निवासी पवित्रा राईले १० हजार, हङकङ निवासी धरान–११ हाल हङकङ निवासी रन्जीता राईले ६ हजार, धरान–२ की धनकुमारी गुरुङले ५ हजार एक सय, धरान–१८ की रामकृष्ण राईले ५ हजार, भोजपुर चाम्के निवासी हाल युके बस्ने देविका राईले ५ हजार, धरान–१० हाल युके निवासी निवासी माला तावा लिम्बूले ५ हजार, धरान–१० हाल युके निवासी चन्द्रकला लिम्बूले ५ हजार, धरान–१५ हाल स्वीडेन निवासी सोबिन सुब्बाले ५ हजार सहयोग दिएका छन् ।
धरान–१० की पुनम वान्तवा राईले ५ हजार, सोही स्थानकी झुमा राईले ५ हजार, धरान–१८ का सन्तोष विकले ४५ सय, धरान–१३ का बलराम र सुशिला राईले ३ हजार, धरान–१८ का चन्द्र गुरुङ थापाले ३ हजार रूपैयाँ सहयोग गरेका छन् ।
भेरी नगरपालिका मेयर चन्द्रप्रकाश थापासँग कुरा भइसकेको र सो रकम पठाउन लागिएको शिव बान्तवाले बताइन् । ‘हामीले जम्मा एक लाख सहयोग संकलन गरिसकेका छौं, पठाउने तयारीमा छौं ।’ उनले शिवले भनिन् । मेयर थापासँग कुरा गर्दा उनले औपचारिक कार्यक्रम गरेरै रकम हस्तान्तरण गर्ने बताएपछि रकम पठाउन लागिएको बताइन् । उनले नेपाल बैक लिमिटेड जाजरकोट, भेरी नगरपालिका स्थानीय तह प्रकोप ब्यवस्थापन कोषको खाता नं. ०७५०३०००००७००२०००००१ मा रकम पठाउन लागिएको बताइन् ।
कात्रो किन्ने रकम समेत नभएपछि मन छोएको शिव बताउँछिन् । ‘के पहाड, के मधेश, के जात, के धर्म, के विदेश के स्वदेश, के पुर्व, के पश्चिम यहाँ सबैको आत्मा रोएको छ, मैले पनि हृदयविदारक कहानीले मन थाम्न सकिनँ’, संकलनमा सहयोग गर्ने शिवले भनिन्, ‘कात्रो किन्ने पैसा नभएर सडकमा टोपी थापेको समाचार पनि पढें, अवस्था नाजुक भएको देखेर सहयोग जुटाएर पठाउन हामी दिदीभाइ निर्णय गरेका थियौं र अहिले सफल पनि भएका छौं ।’
घटनाबाट असाहय पीडा भोगिरहेका पीडित परिवारलाई थोरै मात्रामा भएपनि खर्चमा राहत पुगोस् भन्ने उद्देश्यले आफूहरूले सहयोग गरेको धरानेले बताएका छन् ।
उनीहरूले घटनाका कोही पनि दोषीलाई उम्किन नदिने गरी सबैले पहल गर्नुपर्ने बताए । सोतीको घटना जघन्य अपराध भएकोले दोषीलाई हदैसम्मको सजाय दिएर पीडितलाई उचित न्याय दिलाउन सबैले आफ्नो आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए ।
‘जाजरकोटका अमूल्य सम्पत्तिको रुपमा रहेका युवाहरुको बर्बर र पासविक ढङ्गले भएको हत्याका दोषीलाई कारबाही गराउने बेला सबै नेता पार्टी र व्यक्तिले कुनै पनि आग्रह पूर्वाग्रह राख्न हुँदैन’, शिव वान्तवा थप्छिन्, ‘सायद यो पहिलो घटना हुन सक्छ जोकोहीको लागि यो घटनाले सबको मन रोएको छ भावविहवल छ, मन थान्न सकिनँ, यो गरिब अनि दलित हुनुको कारणले गर्दा योजना बद्धरुपले ती पापीहरूको योजनामा घटना घटेको देखिन्छ, त्यसैले कडाभन्दा कडा कारवाही हुनुपर्छ ।’



धरानमा दलित युवाको हत्याको विरोध यसरी भएको थियो :