धरानः धरानमा पाखुराको ट्युमरको सफल शल्यक्रिया भएको छ । धरानस्थित विजयपुर हस्पिटलका चिकित्सकले ट्युमरको सफल शल्यक्रिया गरेको अस्पताल प्रशासनले जनाएको छ ।
संखुवासभाको मादीका ५५ वर्षीय पुरुषको पाखुरामा रहेको ट्युमरको हस्पिटलका वरिष्ठ सर्जन डा. गजेन्द्र दासको नेतृत्वको टोलीले शल्यक्रिया गरेको हो ।
संखुवासभाको चैनपुर–९ का पेम्बा छिरिङ शेर्पाको पाखुरामा रहेको ४ केजीभन्दा बढी तौलको ट्युमर शल्यक्रियामार्फत् हटाइएको अस्पतालका प्रमुख प्रशासक इन्दु योञ्जनले जानकारी दिए । वरिष्ठ सर्जन डा. दासका साथै डा. दीपक पौडेल (ऐनेस्थियोलोजिष्ट) सहितको समूहले २ घण्टाको विशेष शल्यक्रिया गरेको हस्पिटलले जनाएको छ ।
लगभग ३० वर्षअघि सुपारीको दानो आकारमा दायाँ पाखुरामा देखिएको ट्युमर बढ्दै गएको शेर्पाले बताए । खासै असर नगरेकाले वास्ता नगरेका उनले १० वर्षअघि रोजगारीको सिलसिलामा भारतमा रहँदा शल्यक्रिया गर्न खोजे पनि अस्पतालमा मञ्जुरीनामा पत्रमा हस्ताक्षर गर्ने मानिस नहुँदा अप्रेसन हुन नसकेको बताए । यस्तो शल्यक्रिया सयौंको संख्यामा भइरहे पनि यो एक छुट्टै र विशेष प्रकृतिको शल्यक्रिया भएको अस्पतालका प्रशासक योञ्जनले बताए ।

