Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एक लाखमाथिको चेक साट्न पाँच दिनको बास !

हाम्रो कोशी आवाज
जेष्ठ ३० २०७७, शुक्रबार
एक लाखमाथिको चेक साट्न पाँच दिनको बास !

ताप्लेजुङः आजभोलि गाउँदेखि सदरमुकाम आउनेहरूको बाक्लो आवतजावत देखिन थालेको छ । आर्थिक वर्ष सकिदै छ, गाउँगाउँमा विकास निर्माणको योजनाहरू सम्पन्न हुँदै छ । पालिका प्रमुखहरू नयाँ आर्थिक वर्षको बजेट निर्माणमा जुटेका छन् भने अर्कोतिर भने सदाझै कार्यालयको प्राङ्गणमा घाम तापेर बस्न फुर्सद छैन । कार्यालयमा फेसबुक चलाएर बस्न त्यति समय मिलिरहेको छैन किनकि आर्थिक वर्ष सकिँदैछ ।
गत सोमबार हस्याङफस्याङ गदै बिहान ताप्लेजुङको सदरमुकाम फुङलिङ नगरपालिकामा विमल लिम्बू पुगे । झट्ट हेर्दा ‘रिटायर्ड लाहुरे’ ले पेन्सन थाप्न सदरमुकाम आएको जस्तो तर विमल कुनै लाहुरे चाहिँ होइनन् उनी त फक्ताङलुङ गाउँपालिका–६ मादिबुङ किरात माङहिमको निर्माण समितिको अध्यक्ष हुन् । निर्माण सम्पन्न गरेर रकम निकासाका लागि सदरमुकाम आएको रहेछन् ।
विमल बिहान शेर्पा टोलमा खाना खाएर निकै हतारिँदै ग्लोबल आइएमई बैंक पुगे । बैंकमा निकै खचाखच थियो । केहीबेर लाइनमा उभिएर बसे । त्यतिकैमा बैंकको एक कर्मचारीले हिजोदेखि नै नेट नचलेकोले केही समय बाहिरतिर घुमघाम गरेर आउन आग्रह गरे । दुईदिनको पैदल हिँडाइले निकै थाकेको लिम्बू आफन्तमा गएर केही समय भए पनि आराम गर्ने सोचमा पुगे र आफन्तको कोठामा जान्छन् । दुई घण्टा आराम गरिसकेपछि पुनः बैंक पुक्छन् । तर अझै नेट चलेको थिएन । विमल निकै निसारा हुँदै बैंकको सेक्युरिटी गार्ड समात्छन् अनि भन्छन्–भोलि त नेट चल्छ होला नि । गार्डले भने हप्ताको दुई दिनमात्र बैंक खोल्ने जानकारी दिन्छन्, गाउँदेखि बैंकको काम लिएर आउन सर्वसाधारणले कतिखेर बैंक खुल्छ, कति खेर बन्द हुन्छ थाहा हुँदैन ।
बैकको एक कर्मचारीले अब आइतबार मात्र आउनु भनेपछि निकै दोधारमा छन् उनी । आइतबार आउन ५ दिन थियो । विमल भोलि बिहानै गाउँ फर्किने सोंचमा छन् । एउटा उपाय अपनाए–फक्ताङलुङ गाउँपालिकामा रहेको ग्लोबल आईएमइ बैकमा पुगेर कुनै विश्वासिलो गाउँ आउने आफन्तको बैंक खातामा जम्मा गरिदिने र ऊ गाउँ आउँदा ल्याइदिओस् ।
सदरमुकामदेखि गाउँतिर फर्किने थुप्रै थिए तर विमलको विश्वासिलो पात्र भने पाउन मुस्किल भयो । विश्वासिलो पात्र सोच्दै, खोज्दै निकै साँझ परेको थियो । उसमा अर्को सोच आउन थाल्यो ५ दिन सदरमुकाम बसेर आफै रकम निकासा गरेर लैजाने । आफन्तको कोठामा गएर बस्न थाल्छन् । गाउँमा खेती पातीको कामले गर्दा पाँच मिनेट पनि फर्सद नहुने विमल बजारमा ५ दिन बिताउन ५ वर्ष भएको जस्तो भयो । तर छिनछिनमा मोबाइलको घण्टी बज्थ्यो । उनी फोनको घण्टीले हैरान थिए । माङहिम बनाउँदा लगाएको मिस्त्रीहरुले फोन गरेर कहिले पैसा ल्याउनुहुन्छ हँ भनिरहने ।
बिहान विमल निकै हतारिँदै थिए । उनी सदरमुकाम बसेको ५ दिन पूरा हुँदै थियो । साढे ९ बजे खाना खाएर बैंक पुगे । एक हप्तामा दुई दिन मात्र बैंक खोल्ने भएकोले बैंकमा निकै भीड थियो । ताप्लेजुङ एक हिमाली जिल्ला भए, होला यहाँका बैंकहरुमा टोकनको सिस्टम छैन । त्यसैले दिनभरी कहिलेकाहीँ खचाखच लाइनमा उभिनुपर्छ । लकडाउनको कारणले ११ बजेदेखि २ बजेसम्म मात्र बैंक खुल्ला हुन्छ । बिहान १० बजेदेखि नै लाइनमा बस्नुपर्ने बाध्यता छँदैछ । सामाजिक दुरी कायम गरेर बस्नुपर्ने नेपाल सरकारको निर्देशन भएपनि बैंकहरुमा खचाखच भीड थियो ।
विमल त्यही लाइनमा निकै लामो समयपछि बल्ल गेट नजिक आइपुगे । गार्डले सेनिटराइजर हातमा लगाइदिएपछि भित्र प्रवेशको अनुमति मिल्यो । भित्र क्यासियर भएको ठाउँमा गएर २ लाख ८८ हजार ५ सय ९२ रुपैयाँको दिइन्छ । क्यासियरले केही समयमै चेकमा केरमेट भएकोले बैंक खातावालहरूले पुनः सही गरेर ल्याउन भन्छन् । खातावाल दुईजना भने गाउँतिरै भएकोले एकजना साथी बोलाएर चेकमा केरमेट भएको ठाउँमा दुई चार चोटी कोसिस गरेपछि चेकमा मिलाएर सही गरेर पुनः बैंकमा भएको क्यासियरकहाँ पुग्छन् । फेरि सही नमिलेको भन्दै क्यासियले चेक फिर्ता गरे ।
धेरै टाढादेखि नै नियाल्दा पनि विमलको अनुहारबाटै प्रष्ट देखिन्थो काम बनेन । बाहिर निस्केपछि अनेक उपायहरू खोज्दै जाँदा फक्ताङलुङ गाउँपालिका अध्यक्ष सरोज लिम्बूलाई फोन गर्छन् । बैंकमा सही नै नमिलेपछि केही गर्न नसकिने भनेपछि आफ्नै वडा कार्यालयको सचिव भानुभक्त श्रेष्ठलाई फोन गर्छन् । उनले पनि सही मिल्नैपर्ने बताएपछि अन्तिम विकल्प गाउँ फर्किनुबाहेक अन्य रहेन ।
संघीय संरचनापछि सबै गाउँगाउँमा पनि बैंकहरुको शाखा स्थापना भइसकेको छ । ताप्लेजुङ सदरमुकाममा १३ वटा बैंकले आर्थिक कारोबार गरिरहेको छ । सबै गाउँपालिकाको केन्द्रमा बैक स्थापना भइसकेको छ । फक्ताङलुङ गाउँपालिका ग्लोबल आइमी बैंकले आफ्नो शाखा स्थापना गरेको छ । तर एक लाख भन्दा माथिको चेक साट्न सदरमुकाममै पुग्नुपर्छ । यो समस्या यहाँको मात्र होइन ताप्लेजुङको सबै गाउँपालिका केन्द्रमा स्थापना भएको शाखा बैंकहरूको पनि उही छ । एक लाख देखि ठूलो रकम निकासा गर्न सदरमुकाम नपुगी हुँदैन । अन्त्यमा उनी हाँस्दै खुले–दुई लाखको चेक साट्न दुई करोडकै टेन्सन पो लिनुपर्ने भयो त ।
फोटोः विमल

प्रकाशित मिति: जेष्ठ ३० २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend