Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानेले दुःखमा साथ देलान् ?

हाम्रो कोशी आवाज
जेष्ठ ३२ २०७७, आइतबार
धरानेले दुःखमा साथ देलान् ?

धरानः सुनसरी उद्योग वाणिज्य संघले घरभाडाको समस्या समाधान गर्ला ? यो प्रश्न अहिले आम उद्योगी–व्यवसायीमा परेको छ । त्यस्तै, अहिले धरानका उद्योगी–व्यवसायी घरभाडा तिर्न नसकेर हैरान छन् । अन्य जिल्लामा घरभाडा छुट दिनेलाई घरघरै पुगेर सम्मान गर्ने गरेको उदाहरण पनि छन् ।
छिमेकी जिल्लाको उदाहरण नै हेरौं नः लकडाउनका बेला घरभाडा मिनाहा गर्ने धनकुटाका घरधनीहरुलाई उद्योग वाणिज्य संघले सम्मान गरेको छ । भाडा मिनाहा गर्ने धनकुटा बजारका ६७ जनाको घर–घरमै पुगेर वाणिज्य संघको टोलीले उनीहरुलाई सम्मान गरेको हो । संघका अध्यक्ष बिजयसन्तोषी राईसहितको टोलीले भाडा मिनाहा गर्ने घरधनीहरुलाई दोसल्ला तथा खादा ओढाएर सम्मान गरेका हुन् ।

कोराना संक्रमण नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका कारण व्यापार–व्यावसाय बन्द भएर संकटमा परेकाहरूलाई घरधनीहरूले भाडा मिनाहा गरेका थिए । दुःखमा परेका बेला भाडा मिनाहा गरेर मानवीय धर्म निर्वाह गरेको भन्दै वाणिज्य संघले घरधनीहरूलाई सम्मान गरेको हो ।
यता सुनसरी उद्योग वाणिज्य संघ धरानले पनि व्यवसायीहरूको घर बहालको समस्या समाधान गर्ने जनाएको छ । कोरोना (कोभिड(१९) को कारण गत चैत्र ११ गतेदेखि लकडाउन भई सम्पूर्ण व्यवसायहरु बन्द रहेको अवधिमा उद्योग–व्यवसाय सञ्चालन गरेको स्थानको घर बहालका सम्बन्धमा संघले सहजीकरण गर्ने निर्णय गरेको हो ।
संघको कार्यसमितिको बैठकबाट संघका द्वितीय उपाध्यक्ष अनिलकुमार अग्रवालको संयोजकत्वमा घरबहाल समस्या समाधान समिति गठन गरेको छ । संघका महासचिव राजेश अग्रवालका अनुसार सो समितिले व्यवसायी र घरधनीका बीचमा मध्यस्थकर्ताको भूमिका खेल्ने तथा घरभाडा छुट दिने घरधनीहरूलाई सम्मान समेत गरिने बताएका छन् ।
यता धरान उपमहानगरपालिकाका मेयर तिलक राईले पनि संघले आयोजना गरेको छलफल कार्यक्रममा भनेका थिए– कसैले घरभाडा छुट दिए सम्मानपत्र लिएर घरघरै पुगेरै भएपनि सम्मान गरौंला नि, त्यसको लागि संघले पहल गर्नुपरयो । ‘सक्नेजतिले गर्ने हो, त्यसपछि घरघरै पुगेर प्रमाणपत्र दिने व्यवस्था पनि गरौंला ।’ उनले भनेका थिए ।
यस्तै, संघले व्यवसायीहरूको कोरोना बीमा निःशुल्क गरिदिने भएको छ । हाल नेपालमा दु्रत गतिमा कोरोनाको बिरामीहरु बढिरहेको अवस्थामा व्यवसायीहरुको स्वास्थ्यलाई मध्य नजर गर्दै संघले यस्तो निर्णय गरेको हो । संघको कार्यसमितिको बैठकबाट भएको निर्णय अनुसार संघका सदस्य भएका व्यवसायीहरूले २०७७ आषाढ २० गतेसम्म सदस्य नवीकरण गरेमा रु. ५० हजार बराबरको कोरोना बीमा निःशुल्क गरिदिने भएको हो । यस कार्यको लागि संघले कार्यसमिति सदस्य अनिल ताम्राकारको संयोजकत्वमा बीमा उपसमिति समेत गठन गरिसकेको छ ।
संघका कार्यसमिति विष्णु बरालका अनुसार यदि व्यवसायीहरूको पीसिआर टेष्टमा कोभिड–१९ को रिपोर्ट पोजेटिभ आएमा बीमा कम्पनीमार्फत् बीमा गरिएका व्यवसायीले रु. ५० हजार पाउने बताए ।

प्रकाशित मिति: जेष्ठ ३२ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend